नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सबै सदस्यलाई सहभागी गराउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुट्ने गरी अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न कारणले सदस्यता अद्यावधिक हुन छुटेका तर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो।

बैठकले २०८३ असोज ३ र ४ गते वडा अधिवेशनबाट सुरु हुने तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने १५औँ महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। असोज १६ गते दिउँसो १ बजे काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन सत्र सुरु हुने कांग्रेसले जनाएको छ।

कांग्रेसले महाधिवेशनलाई पार्टीको सांगठनिक तथा राजनीतिक जीवनको सामान्य प्राविधिक प्रक्रिया मात्र नभई राजनीतिक ‘महाउत्सव’का रूपमा अघि बढाउने निर्णय गरेको छ। बैठकले वडा अधिवेशनदेखि महाधिवेशनसम्मका सबै तहमा उत्साहजनक सहभागिताका लागि पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वानसमेत गरेको छ।

पार्टीको सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा विभिन्न कारणले छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशन प्रक्रियामा समेट्ने निर्णय बैठकले गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परी सदस्यता गुमाएका तथा प्रचलित कानुनबमोजिम पार्टी सदस्य बन्न नमिल्ने व्यक्तिबाहेक अन्य क्रियाशील सदस्यलाई १५औँ महाधिवेशन प्रक्रियाबाट वञ्चित नगरिने कांग्रेसले स्पष्ट पारेको छ।

कांग्रेसका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका भए पनि त्यसपछि पार्टीका विभिन्न तहमा सक्रियतापूर्वक अधिवेशन प्रक्रियामा सहभागी हुँदै आएका सदस्यहरूको भूमिकालाई बैठकले सम्मान गरेको छ। सदस्यता अद्यावधिक प्रक्रियामा कोही पनि क्रियाशील सदस्य नछुटून् भन्ने उद्देश्यले यसअघि पटक–पटक समयावधि थप गर्नुका साथै वडा अधिवेशनको कार्यतालिकासमेत परिमार्जन गरिएको कांग्रेसले जनाएको छ।

महाधिवेशन प्रक्रियामा देखिएका असहमति र चासोलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट सम्बोधन गर्न पार्टीले निरन्तर पहल गर्दै आएको बैठकले जनाएको छ। अधिवेशन संयोजनका लागि उपयुक्त संयन्त्र निर्माण, सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय निर्वाचन समिति तथा अधिवेशन व्यवस्थापन समितिमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने विषयमा समेत अधिकतम लचकता अपनाइएको कांग्रेसको भनाइ छ।

बैठकले विशेष महाधिवेशन सम्पन्न हुनुअघिका तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यलाई समेत विधानबमोजिम १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागी हुने आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ।

त्यस्तै, नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ४ (९) बमोजिम महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सभापति गगनकुमार थापासमक्ष प्रस्तुत गरेको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावलीलाई बैठकले स्वीकृत गरेको छ।

बैठकले वडा तथा अन्य तहगत अधिवेशन विधानबमोजिम सम्पन्न गर्न सम्बन्धित कार्यसमितिलाई निर्वाचन समितिसँग समन्वय गर्न निर्देशन दिएको छ। तोकिएको जिम्मेवारी पूरा नगरे विधानबमोजिम वैकल्पिक व्यवस्था गरिने कांग्रेसले जनाएको छ।

यसैबीच, केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट दिएको राजीनामाबारे सभापति थापाले बैठकलाई जानकारी गराएका छन्।

कांग्रेसले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रूपमा लिँदै कुनै असहमति भए त्यसलाई महाधिवेशनमै राखेर समाधान खोज्नुपर्ने जनाएको छ। पार्टीमा रहन चाहने प्रत्येक सदस्यले महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने वातावरण निर्माण गर्नु पार्टीको उद्देश्य रहेको बैठकको निष्कर्ष छ।

अन्त्यमा कांग्रेसले पार्टीको शक्ति लाखौँ सदस्यको एकता, लोकतान्त्रिक संस्कार र जनताको विश्वासमा निहित रहेको उल्लेख गर्दै असोज ३ गते वडाबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न हुने १५औँ महाधिवेशनमा देश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन हार्दिक अपिल गरेको छ।