काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको हो।
छलफलमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उत्पन्न अवस्थाको समीक्षा, पछिल्लो परिस्थिति, तत्काल चाल्नुपर्ने कदम तथा पुनःस्थापना र पुनरुत्थानका विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र तत्काल आवश्यक सहयोगबारे प्रधानमन्त्रीलाई जानकारी गराइरहेका छन्।
छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछाने सहभागी छन्। त्यस्तै, विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्।
रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छलफलमा उपस्थित छन्। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत सहभागी भएका छन्।
धादिङबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ तथा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ सहभागी छन्।
त्यस्तै, तनहुँबाट देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ पनि छलफलमा सहभागी भएका छन्।
छलफलका क्रममा जनप्रतिनिधिहरूले बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनाको अवस्था, विस्थापित नागरिकको व्यवस्थापन, राहत वितरण तथा पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे प्रधानमन्त्रीलाई जानकारी गराउनेछन्।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर तत्काल राहत तथा पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउने र दीर्घकालीन रूपमा पुनर्निर्माण तथा पुनरुत्थानका लागि आवश्यक पहल गर्ने विषयमा छलफल केन्द्रित गरेका छन्।






