हेटौँडा – जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ जना सवारी चालकलाई कारबाही गरी रु १ करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन गरेको छ।
कार्यालयका प्रमुख रमेश विष्टका अनुसार उक्त अवधिमा साउनदेखि पुससम्म ७ हजार ३९० र माघदेखि असारसम्म १० हजार ८०२ जना चालक कारबाहीमा परेका थिए।
कारबाहीको सङ्ख्या बढे पनि जिल्लामा सवारी दुर्घटना भने अपेक्षाअनुसार घट्न नसकेको उहाँले बताउनुभयो। आर्थिक वर्ष २०८२/८३ मा मकवानपुरमा ४१४ वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनामा परी ६४ जनाको मृत्यु भएको थियो भने ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका थिए।
कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्षको पहिलो छ महिनामा १९७ र पछिल्लो छ महिनामा २१७ वटा दुर्घटना भएका थिए। पहिलो छ महिनामा ३५ जनाको मृत्यु भएकामा पछिल्लो छ महिनामा २९ जनाले ज्यान गुमाएका थिए।
प्रमुख विष्टले सवारी दुर्घटना न्यूनीकरणका लागि कारबाहीसँगै चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियम पालना गर्ने चेतना र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो। उहाँले चालकको लापरबाही दुर्घटनाको प्रमुख कारणमध्ये एक रहेको उल्लेख गरे।
“कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुप¥यो,” उहाँले भन्नुभयो, “दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन। चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो।”
कार्यालयका अनुसार गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जनालाई कारबाही गरिएको थियो। यस्तै, लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो।






