लमजुङ । रातो सारी, हरियो चुरा, पोते, दर र नाचगान—तीज सम्झिँदा नेपाली समाजमा यिनै दृश्य आँखामा आउँछन् । तर तीज केवल धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइन, यो नेपाली महिलाको जीवनशैली, सम्बन्ध, सामाजिक चेतना र समयसँगै बदलिँदै गएको संस्कृतिको प्रतिबिम्ब पनि हो ।
एक समय थियो, विवाहित चेलीका लागि तीज माइती पुग्ने दुर्लभ अवसर थियो । वर्षभरि कर्मघरको काममा व्यस्त रहने बुहारीका लागि माइतीको आँगनमा पुगेर दिदीबहिनी भेट्नु, सुखदुःख साट्नु र मनका पीडा गीतमार्फत पोख्नु नै तीजको ठूलो खुसी हुन्थ्यो ।
आज तीज मनाउने शैलीमा व्यापक परिवर्तन आएको छ । सडक र यातायातको पहुँच विस्तार भएको छ । सञ्चारका माध्यमले दूरी घटाएका छन् । माइती जानका लागि बाबु, दाजु वा भाइलाई लिन आउनुपर्ने पुरानो बाध्यता कम भएको छ । तीज आउनुअघि नै दर खाने कार्यक्रम सुरु हुन्छन् । साथीभाइ तथा दिदीबहिनी रेस्टुरेन्ट, पार्टी र विभिन्न समारोहमा भेटिन्छन् । तीजका गतिविधि अब घर र माइतीको आँगनमा मात्र सीमित छैनन्, सामाजिक सञ्जालसम्म विस्तार भएका छन् ।
माइती पुग्नु नै ठूलो खुसी
दोर्दी गाउँपालिका–३ की ७० वर्षीया यशोदा घिमिरेको तीजको सम्झना अझै माइतीको आँगनसँग जोडिएको छ ।
उनका अनुसार पहिले विवाहित चेलीका लागि तीज माइती भेट्ने प्रमुख अवसर थियो । विवाहपछि टाढाटाढा पुग्ने र वर्षभरि माइती आउजाउ गर्न सहज नहुने भएकाले तीजमा माइती जान पाउनु विशेष अवसर मानिन्थ्यो ।
त्यतिबेला सवारीसाधन र सञ्चारको सुविधा थिएन । टाढा रहेको माइती पुग्न घण्टौँ हिँड्नुपथ्र्यो । तीज आउन केही दिनअघि नै बाबु, दाजु वा भाइ चेलीलाई लिन कर्मघर पुग्ने चलन थियो ।
“त्यतिबेला अहिले जस्तो सवारीसाधन र सञ्चारका माध्यम थिएनन् । टाढा भएका माइतीसम्म पुग्न घण्टौँ हिँड्नुपथ्र्यो । त्यसैले तीजमा माइती भेट्नु नै ठूलो कुरा हुन्थ्यो,” घिमिरेले सम्झिइन् ।
माइती पुगेपछि दिदीबहिनी तथा चेलीबेटी एकै ठाउँमा भेला हुन्थे । नाचगान हुन्थ्यो, सुखदुःखका कुरा हुन्थे । घरपरिवारमा भोगेका पीडा, गुनासा र मनका कुरा तीजका गीतमार्फत व्यक्त गरिन्थ्यो ।
त्यतिबेला फोन र सामाजिक सञ्जाल थिएनन् । टाढा रहेका आफन्तसँग प्रत्यक्ष भेटेरै कुरा गर्नुपथ्र्यो । त्यसैले तीज महिलाका लागि भेटघाटसँगै मनको भारी बिसाउने अवसर पनि थियो ।
छोरी–चेली आउने भएपछि माइती पक्ष पनि बाटो हेरेर बस्थ्यो । घरमै उपलब्ध खाद्य सामग्री जुटाएर दरको तयारी गरिन्थ्यो । सबैजना एकै ठाउँमा भेला भएर खाने, गाउने र रमाइलो गर्ने चलन थियो ।
तर तीज आए पनि सबै बुहारीलाई माइती जाने अवसर भने हुँदैनथ्यो । घरको कामलाई प्राथमिकता दिइने भएकाले कतिपय महिलालाई सासू–ससुराले माइती जान अनुमति नदिने अवस्था रहेको घिमिरे बताउँछिन् ।
“तीज आए पनि सबै बुहारी माइती जान पाउँदैनथे । घरको काम गर्नुपर्छ भनेर कतिपयलाई जान दिइँदैनथ्यो । त्यतिबेला काम नै ठूलो कुरा मानिन्थ्यो,” उनले भनिन् ।
चेतनासँगै बदलियो तीज
बेँसीसहर नगरपालिका–२ भकुण्डेकी ४४ वर्षीया पार्वती क्षेत्रीले भने आफ्नो पुस्तासम्म आइपुग्दा तीज मनाउने शैलीमा विस्तारै परिवर्तन आएको अनुभव गरेकी छन् ।
अघिल्लो पुस्ताको तुलनामा महिलामा चेतना बढ्दै गएपछि चेलीलाई माइती जान दिनुपर्छ र महिलाले पनि चाडपर्व मनाउन पाउनुपर्छ भन्ने सोच विकास भएको उनको भनाइ छ ।
“पहिलेभन्दा विस्तारै चेतना बढ्दै गयो । माइती जानुपर्छ, चाडपर्व मनाउन पाउनुपर्छ भन्ने कुरा पनि बुझ्न थालियो । त्यसपछि माइती जाने र भेटघाट गर्ने अवस्था अलि सहज हुँदै आयो,” क्षेत्रीले भनिन् ।
सडक र सवारीसाधनको पहुँच बढेपछि माइती आउजाउ झनै सहज भयो । बाबु, दाजु वा भाइ चेलीलाई लिनै आउनुपर्ने अवस्था क्रमशः हट्दै गयो । फोनको सुविधा आएपछि माइतीबाटै फोन गरेर बोलाउने र चेली आफैँ माइती जाने क्रम बढ्यो ।
तर तीजको मुख्य परम्परा भने कायमै रह्यो । अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने, श्रीमान्को दीर्घायु तथा परिवारको सुख–समृद्धिको कामना गर्ने र साथीसङ्गीसँग भेटघाट गरी नाचगान गर्ने चलन अझै कायम रहेको क्षेत्री बताउँछिन् ।
रेस्टुरेन्टदेखि सामाजिक सञ्जालसम्म
बेँसीसहरकी २५ वर्षीया स्वेच्छा श्रेष्ठले आफूले देख्दै र भोग्दै आएको तीज अघिल्लो पुस्ताको भन्दा निकै फरक रहेको बताउँछिन् ।
उनका लागि तीज महिलाको पर्व हो । दर खाने, व्रत बस्ने र श्रीमान्को दीर्घायुको कामना गर्ने परम्पराबारे उनी जानकार छिन् । तर अहिले तीज मनाउने तरिकामा नयाँ प्रवृत्ति थपिएको उनको अनुभव छ ।
“तीज भनेको महिलाहरूको पर्व हो भन्ने बुझेकी छु । तीजमा व्रत बस्ने, अघिल्लो दिन दर खाने र श्रीमान्को आयु लामो होस् भनेर कामना गर्ने चलन हो भन्ने बुझेकी छु,” श्रेष्ठले भनिन् ।
उनका अनुसार अहिले तीज आउनुभन्दा महिनौँअघिदेखि नै दर खाने कार्यक्रम सुरु हुन्छन् । साथी तथा महिलाहरू समूह बनाएर पार्टी, समारोह र रेस्टुरेन्टमा जाने, दर खाने र रमाइलो गर्ने प्रवृत्ति बढेको छ ।
परम्परागत खानासँगै मासु, चिउरा तथा विभिन्न पेय पदार्थ समावेश हुने कार्यक्रम पनि हुन थालेका छन् । पहिरन र गरगहनामा प्रदर्शन गर्ने प्रवृत्ति बढेको श्रेष्ठको अनुभव छ । कसले राम्रो पहिरन लगाउने र कसले बढी आकर्षक देखिने भन्ने प्रतिस्पर्धासमेत देखिन थालेको उनी बताउँछिन् ।
तीजका तस्बिर, भिडियो तथा कार्यक्रमका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेसँगै तीजको दायरा अझ फराकिलो भएको छ । कुनै समय माइती र समुदायको आँगनमा सीमित तीज अहिले सामाजिक सञ्जालको सार्वजनिक संसारसम्म पुगेको छ ।
मौलिकता जोगाउने चुनौती
तीजको बदलिँदो स्वरूपसँगै यसको गीत–सङ्गीतमा आएको परिवर्तनप्रति भने श्रेष्ठ चिन्तित छिन् ।
पहिले धार्मिक भावना, मौलिक संस्कार–संस्कृति र महिलाका सुखदुःख समेटिएका तीज गीत गाइन्थे । अहिले मनोरञ्जन र नाचगानलाई बढी प्राथमिकता दिइने गीत आउने गरेको उनको बुझाइ छ ।
नेपाली मौलिक गीतसँगै विदेशी गीतमा समेत नाचगान गर्ने प्रवृत्ति बढेको उनी बताउँछिन् ।
“अहिले तीजको नाममा रमाइलो र नाचगानलाई बढी प्राथमिकता दिइएको जस्तो लाग्छ । मौलिक तीजका गीत र परम्परा जोगाउन सबैले सचेत भएर लाग्नुपर्छ,” उनले भनिन् ।
उनी सम्भव भएसम्म गाउँघरमै र नभए आफ्नै घरमा साथीहरूसँग भेला भएर तीज मनाउने पक्षमा छिन् । तीजलाई केवल रमाइलो, पहिरन र प्रदर्शनको पर्वभन्दा पनि सुखदुःख साट्ने तथा मौलिक परम्परा र संस्कृतिसँग जोडेर मनाउनुपर्ने उनको धारणा छ ।
तीन पुस्ताका यी अनुभवले तीजको बदलिँदो तस्वीर स्पष्ट देखाउँछन् । हिजो तीज विवाहित चेलीका लागि माइती पुग्ने र मनका पीडा पोख्ने अवसर थियो । सडक, सवारीसाधन र फोनको विस्तारसँगै माइती आउजाउ सहज भयो । अहिले तीज रेस्टुरेन्ट, समारोह हुँदै सामाजिक सञ्जालसम्म पुगेको छ ।
माध्यम र शैली फेरिए पनि तीजको केन्द्रमा रहेको चेली–माइती सम्बन्ध, सुखदुःख साट्ने चाहना र आफ्नो संस्कृतिप्रतिको अपनत्व भने हराउनु हुँदैन । समयअनुकूल परिवर्तन स्वीकार गर्दै तीजको मौलिकता जोगाउनु अहिलेको प्रमुख चुनौती बनेको छ ।
माइतीको आँगनबाट सुरु भएको तीजको यात्रा आज सामाजिक सञ्जालसम्म आइपुगेको छ । अबको प्रश्न यही हो—परिवर्तनसँगै अघि बढ्दै गर्दा तीजको मौलिक आत्मालाई कसरी जोगाउने ?






