ख्वप (भक्तपुर) -भक्तपुर दरबार स्क्वायरमा रहेको केदारनाथ मन्दिर हरितालिका (तीज)को अवसर पारेर पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ ।
तत्कालीन राजा यक्ष मल्लले स्थापना गरेको उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुला गरिएको संस्कृति अध्येता गणेश रञ्जितकारले जानकारी दिए।
मन्दिरका पुजारी प्रमिलराज सुवेदीका अनुसार यसअघि केदारनाथ मन्दिर वर्षमा दुईपटक मात्रै खोलिँदै आएको थियो । बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिका दिन मन्दिरमा दर्शनको व्यवस्था हुँदै आएको उहाँले बताए।
तीजको व्रत बसेका श्रद्धालुलाई दर्शनमा सहज होस् भन्ने उद्देश्यले बिहानैदेखि मन्दिर खुला गरिएको हो । मन्दिर खुलेसँगै दर्शनका लागि पुग्ने महिलाको चाप बढेको छ । आज दिनभर मन्दिर खुला रहने जनाइएको छ ।
स्थानीय सबिना बोहजुले पहिलोपटक मन्दिरभित्र प्रवेश गरेर केदारनाथको दर्शन गर्न पाउँदा खुसी लागेको बताउनुभयो । विसं २०७२ को भूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएपछि भित्र रहेको महादेवको मन्दिर बाहिरबाटै दर्शन गर्दै आएको स्मरण गर्दै उहाँले आज प्रत्यक्ष रूपमा दर्शन गर्ने अवसर पाएको बताए ।
यसैबीच, भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालले हरितालिका तीज २०८३ को अवसरमा भक्तपुर दरबार स्क्वायरमा रहेको प्रसिद्ध चारधाम क्षेत्रमा भव्य महाआरती आयोजना गरिने जानकारी दिए ।
उहाँका अनुसार तीजका दिन चारधाम क्षेत्रमा एकैपटक र एकै समयमा महाआरती सञ्चालन गरिनेछ । धार्मिक तथा आध्यात्मिक महत्व बोकेको उक्त कार्यक्रममा तीजको व्रत बसेका तथा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
सुवालले तीजको साँझ आयोजना हुने महाआरतीमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरे ।






