काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत व्यक्तिको अन्तर्वार्ता लिएर युट्युबमार्फत प्रसारण गरिएको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण जनाएको छ।
काउन्सिलले सोमबार विज्ञप्ति जारी गर्दै रसुवामा आएको बाढीका क्रममा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग अस्पतालको आईसीयूमा उपचारकै क्रममा अन्तर्वार्ता लिई ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलबाट सामग्री प्रसारण गरिएको विषय जानकारीमा आएको जनाएको हो।
यसैगरी, सगरमाथा क्षेत्रमा सम्पर्कविहीन भएको सातौँ दिनमा उद्धार गरिएका एक पथप्रदर्शक अस्पतालमा उपचाररत अवस्थामा आईसीयूबाटै अन्तर्वार्ता लिई बीबीसी नेपालीले प्रसारण गरेको भिडियोप्रति पनि काउन्सिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
प्रेस काउन्सिलले दुवै घटनालाई पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ। घटनाबारे आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग समेत पत्राचार गरिएको काउन्सिलले जनाएको छ।






