अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

बिदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतो यही भदौ १८ गते अपहरणमा परेका थिए । उनको गएराति बिदेह नगरपालिका–१ स्थित दशगजा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार बालकलाई छाडेर भाग्न खोजिरहेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बालक अपहरणमा परेको सूचना प्राप्त भएलगत्तै तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी खोजतलास तथा अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

खोजीका क्रममा बालकलाई राखिएको स्थान पत्ता लगाई प्रहरी टोली पुगेपछि बालकलाई छाडेर भाग्न खोजेकी पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सकुशल उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।