जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ। प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्यको आह्वान गर्ने बताए ।

मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का अवसरमा पठाउनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सन्देशमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या, क्षति तथा त्यसको समाधानका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने उल्लेख गर्नुभएको छ । साथै, हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने बताए ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाल पग्लिने, हिमचट्टान टुक्रिने, हिमताल फुट्ने, हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्दै जाने तथा मौसममा अप्रत्याशित परिवर्तन आउनेजस्ता समस्या देखिएको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ ।

जलवायु परिवर्तनको असरले स्थानीय जनजीवनसँगै कृषि तथा जैविक विविधतामा समेत गम्भीर प्रभाव पार्न थालेको उहाँले बताउनुभएको छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका असर सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी तथा बलियो सहकार्य आवश्यक रहेको बताए ।

घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनको सोमबार कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको हो । सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ ।

हिमपहिरोपछि भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट ठूलो जनधन तथा भौतिक सम्पत्तिको क्षति भएको र प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्ने तयारी भइरहेका बेला सम्मेलन आयोजना भएकाले यसलाई महत्वका साथ हेरिएको छ।