राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद सीता थपलियाले भारत भ्रमणका क्रममा आफूले ‘वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको’ अभिव्यक्ति दिएको सन्दर्भमा प्रश्न गरेकी थिइन् । उनले विगतका सरकारका कुन–कुन निर्णयलाई ‘ब्यागेज’ भनिएको हो, लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानमा समावेश गर्ने निर्णय पनि त्यसैभित्र पर्छ कि पर्दैन तथा विगतका परराष्ट्र नीतिमा के–कस्ता कमजोरी थिए भन्नेबारे स्पष्टीकरण मागेकी थिइन् ।

जवाफमा मन्त्री खनालले ‘विगतको बोझ’ अर्थात् ‘ओल्ड ब्यागेज’ भन्ने अभिव्यक्ति नेपालको गौरवपूर्ण इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजको संरक्षणप्रति लक्षित नभएको स्पष्ट पारे ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा तथा त्यसलाई अनुमोदन गर्ने संविधान संशोधनका लागि संसद्ले गरेको सर्वसम्मत निर्णय समग्र नेपाली जनताको साझा राष्ट्रिय सङ्कल्प भएको उनले बताए ।

मन्त्री खनालले छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमणको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

भारत र चीनको पछिल्लो औपचारिक भ्रमणबारे आफूले संसद्लाई जानकारी गराइसकेको पनि उनले बताए ।

वर्तमान सरकार कुनै पनि पूर्वाग्रह, संकीर्णता वा अनावश्यक अविश्वासको बन्दी नबनी पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई थप रूपान्तरणकारी दिशामा अघि बढाउन चाहेको मन्त्री खनालले स्पष्ट पारे ।