रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने भएको छ। साथै, पछिल्लो राजनीतिक परिस्थितिबारे दलहरूबीच साझा धारणा बनाउने तथा आवश्यक समन्वयका विषयमा पनि छलफल हुने जनाइएको छ।

प्रवक्ता खरेलका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयसमेत बैठकको एजेन्डामा छन्।

विभिन्न राजनीतिक दलसँग छलफल र समन्वय गरी समसामयिक विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले रास्वपाले सर्वदलीय बैठक बोलाएको हो।