दसैं भत्ता फिर्ता गर्न पार्टीका सांसदहरुलाई कांग्रेस सभापति देउवाको निर्देशन

‘संसदीय दलबाट निर्णय हुनुपर्दथ्यो’

कात्तिक, ३ काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय आफ्ना पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

कोरोना भाइरसको महामारीको अवस्थामा जनताले उपचार नपाएको र स्वास्थ्यकर्मीहरुले जोखीम भत्ता नपाएको बेला सांसदहरुलाई भत्ता दिइएको भनेर आलोचना भएपछि सभापति देउवाले सोमबार पार्टीका सांसदहरुलाई दशैं भत्ता फिर्ता लिन निर्देशन दिएका हुन् ।

विज्ञप्ती निकालेर सभापति निकालेर सभापति देउवाको निर्देशको औपचारिक जानकारी दिइने प्रमुख सचेतक वालकृष्ण खाणँले जानकारी दिए ।

‘संसदीय दलबाट निर्णय हुनुपर्दथ्यो’

यसअघि कांग्रेसका नेता तथा सांसदहरुले दशैं भत्ता नलिने निर्णय पार्टीबाट गराउन सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए ।

तर, सभापतिले निर्देशन जारी गरेपछि केही नेताहरुले असन्तुष्टी जनाएका छन् । ‘दशैं भत्ता फिर्ता गर्ने विषय ठीक हो, स्वागत योग्य छ’ एक नेताले अनलाइनखबरसँग भने, ‘तर, कांग्रेसको संसदीय दल छ । संसदीय दल बस्न नसके संसदीय कार्यदल छ । निर्णय हुन सक्थ्यो, नेताले निर्देशन दिएर फिर्ता गर्ने भन्ने प्रक्रियागत रुपमा उचित लागेको छैन् ।’

जसरी भएपछि भत्ता फिर्ता हुनुपर्ने भन्नेमा भने सभापति देउवालाई ललवाव परेको थियो ।

कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले संसदीय दलले औपचारिक रुपमा दशैं भत्ता निर्णय गर्नुपर्ने बताएका थिए ।

‘जनता आइसोलेसन र भेन्टिलेटर नपाएर मर्दै, सांसदलाई दशैं भत्ता ? यो जायज प्रश्नलाई हामीले आत्मसात गर्नैपर्छ’, प्रवक्ता शर्माले ट्वीट गर्दै भनेका छन्, ‘समय र परिस्थिति अनुकुल यस्तो बिषयमा निर्णय गर्न पार्टीको संसदीय दल स्वायत्त छ । आवश्यक समन्वय साथ ब्यक्तिगत होइन संस्थागत निर्णयमा संसदीय दल सक्षम रहनेछ ।’

कांग्रेसका सांसदहरुले व्यक्तिगत रुपमा दशैं भत्ता फिर्ता गर्न थालेको भन्दै प्रवक्ता शर्माले संस्थागत निर्णय गर्न संसदीय दलका नेता एवं सभापति देउवालाई दवाव पुग्ने गरी ट्वीट गरेका हुन् ।