चाडपर्वमा व्यवसायीलाई बजार अनुशासन गर्न आग्रह

भद्रपुर (झापा) । झापा उद्योग वाणिज्य सङ्घले आगामी बडादसैँ, दीपावली र छठ पर्वलाई लक्षित गर्दै व्यवसायीलाई उपभोक्ता अधिकारको संरक्षणसँगै बजार अनुशासन कायम गर्न आग्रह गरेको छ ।

सङ्घले व्यवसायीलाई बिक्रीका लागि राखिएका वस्तुको मूल्यसूची, स्थायी लेखा नम्बर (पान) र व्यवसाय दर्ता प्रमाणपत्र उपभोक्ताले सहजै देख्न सक्ने स्थानमा राख्न आग्रह गरेको हो ।

सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले चाडपर्वका समयमा बजारमा उपभोक्ताको चाप बढ्ने भएकाले सहज र व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिएको बताए । उहाँले नेपाल सरकारले तोकेका मापदण्डको पूर्ण पालना गर्नसमेत व्यवसायीलाई अनुरोध गरिएको जानकारी दिए ।

यसैबीच, चाडपर्वलाई मध्यनजर गर्दै सङ्घले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म साप्ताहिक बजार बन्दको व्यवस्था अस्थायी रूपमा हटाएको छ । उक्त अवधिमा उद्योग, पसल तथा अन्य व्यवसाय नियमित रूपमा सञ्चालन गर्न सङ्घले व्यवसायीलाई आग्रह गरेको छ ।

कात्तिक ३० गतेपछि भने साविककै व्यवस्थाअनुसार साप्ताहिक रूपमा उद्योग, पसल तथा व्यवसाय बन्द रहने सङ्घले जनाएको छ ।