काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा केन्द्रीय कार्यसमिति चयनका लागि २१ प्रकारका मतपत्र प्रयोग हुने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै १६९ पदका लागि हुने निर्वाचनमा विभिन्न क्लस्टरअनुसार २१ प्रकारका मतपत्रको व्यवस्था गरिएको जनाएको हो ।
समितिका सदस्य–सचिव राजु कटुवालले केन्द्रीय महाधिवेशनको निर्वाचनसम्बन्धी तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार विभिन्न समूह तथा क्लस्टरलाई समेटेर २१ प्रकारका मतपत्र तयार गरिनेछ ।
‘केन्द्रीय महाधिवेशनको तयारी पूरा भएको छ । १६९ पदका लागि हुने निर्वाचनमा २१ किसिमका मतपत्र प्रयोग हुन्छन्,’ कटुवालले भने, ‘विभिन्न किसिमका क्लस्टर रहेकाले सबै क्षेत्रलाई समेटेर २१ प्रकारका मतपत्रको व्यवस्था गरेका छौँ।’
उनका अनुसार १६ असोजदेखि सुरु हुने केन्द्रीय महाधिवेशनअन्तर्गत १९ असोजमा मतदान गर्ने कार्यतालिका छ ।
मतदानका लागि राष्ट्रिय सभा गृह र नेपाल प्रज्ञा–प्रतिष्ठान बुक गरिएको पनि निर्वाचन समितिले जनाएको छ । यद्यपि मतदान एकै ठाउँमा गर्ने वा दुई ठाउँमा गर्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन ।
करिब सात हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएकाले मतदानलाई सहज बनाउन आवश्यक गृहकार्य भइरहेको कटुवालले बताए । प्रतिनिधिको संख्या र व्यवस्थापनलाई ध्यानमा राखेर सम्भव भए एउटै स्थानमा र नभए दुई स्थानमा मतदान गर्ने तयारी रहेको उनको भनाइ छ ।






