यसपालि दशैँमा ‘सरकारी’ खसीबोका र च्याङ्ग्रा नबेचिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंमा सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ ।

हरेक वर्ष दशैंलाई लक्षित गर्दै सर्वसाधारणलाई सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यसपटक बजेट अभावका कारण उक्त कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको हो ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार खसीबोका खरिदका लागि यस वर्ष बजेट विनियोजन भएको छैन । बजेट नभएपछि खसीबोका खरिद प्रक्रिया अघि नबढाइएको उनले बताए ।

‘अघिल्ला वर्षमा दशैंका लागि खाद्यले सुपथ मूल्यमा आफैँ खसीबोका बिक्री गर्दै आएको थियो । यस वर्ष भने बिक्री नगर्ने निर्णय भएको छ । यस शीर्षकमा यो वर्ष बजेट नै विनियोजन गरिएको छैन,’ मिश्रले भने ।

खाद्य कम्पनीले दशैंका बेला बजारमा मासुको मूल्य नियन्त्रण तथा सन्तुलन कायम गर्न उपत्यकामा सहुलियत मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको थियो । तर, यस वर्ष उपभोक्ताले खाद्य कम्पनीबाट सहुलियत मूल्यको खसीबोका किन्न नपाउने भएका छन् ।

यस वर्ष चाडपर्वलाई लक्षित गर्दै कम्पनीले भने सुपथ मूल्य पसल सञ्चालन गरेको छ । भदौ २८ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका अनुसार ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन भइरहेका छन् । ती पसलबाट चामल, दाल, तेल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तु बिक्री भइरहेका छन् ।

यस्तै, स्थानीय उत्पादनतर्फ चिनो, कागुनो, फापर र सिमीलगायत खाद्यवस्तु पनि सुपथ मूल्य पसलबाट बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

सुपथ मूल्य पसलमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो/प्रतियुनिट पाँच रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ ।