पछिल्लो २४ घण्टामा ३७९० जनामा कोरोना पुष्टि, थप २३३५ जना संक्रमणमुक्त

संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुग्यो

कात्तिक, ३ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ३७९० जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार ७१४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

काठमाडौंमा २ हजार ८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जनासहित काठमाडौं उपत्यकामा मात्रै २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । यो कुल संक्रमितको ६९.५ प्रतिशत हो ।

हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४० हजार ७७८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २६ हजार ९२७ जना र संस्थागत आईसोलेसनमा १३ हजार ८५१ जना छन् । तिमध्ये २८२ जना संक्रमितको आईसियु र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ४७० जना रहेका छन् ।