कात्तिक ४, काठमाडौं ।
मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमितले आफ्नो उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेपछि राजधानीका अधिकांश सरकारी अस्पतालले शूल्क उठाउन थालेका छन् ।
उनीहरूले कोभिडका बिरामी आएमा कम्तिमा पनि पाँच दिनको बेड चार्ज लगायतका खर्च धरौटी राख्नुपर्ने नियम बनाएका छन् । कोरोना संक्रमितले कम्तिमा पनि पाँच दिन आइसोलेसनमा बिताउनुपर्ने र पोजिटिभ देखिए अझ धेरै समय अस्पतालमा बस्नैपर्ने भएकाले कम्तिमा पनि पाँच दिनको उपचार खर्च संक्रमितले अग्रिम भुक्तानी गर्नुपर्ने भएको छ ।
सिभिल अस्पतालले उपचार खर्च लिने सूचना निकालेको छ भने त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालले पनि बिरामी भर्ना गर्दा पाँच दिनको शुल्क बुझाउन भनेका छन् ।
अस्पतालहरूका अनुसार संक्रमितले उपचारका लागि सुरुमै ५ दिनको उपचार खर्च ३५ सय रुपैयाँदेखि १५ हजारसम्म डिपोजिट गर्नुपर्छ ।
सिभिल अस्पतालद्वारा जारी सूचनामा भनिएको छ,’ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ ।’
त्यतिमात्रै होइन, बिरामीलाई क्यान्टिनमा समेत तत्काल धरौटी रकम जम्मा गर्न भनिएको छ । अस्पतालको सूचनामा भनिएको छ,’ खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ ।’
त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासका अनुसार अस्पताल प्रशासनको बैठकले ५ दिनको उपचार खर्च जम्मा गर्न लगाउने निर्णय गरेको छ ।
सरकारले गरेको निर्णयअनुसार सामान्य लक्षण भएकाहरुले हरेक दिन ३५ सय, मध्यम लक्षण भएकाहरुले ७ हजार र आईसीयूमा भर्ना हुनेहरुले १५ हजार तिर्नुपर्ने डा. दासले बताए । ‘औषधि र परीक्षणको शुल्क यहीअन्तर्गत पर्छ । खानाको कति शुल्क लिने भन्ने विषयमा अहिले निर्णय भइसकेको छैन’ उनले भने, ‘अहिलेसम्म एउटा संस्थाले निःशुल्क नै खुवाइरहेको छ ।’
पाटन अस्पतालका कोभिड संयोजक डाक्टर बिमल पाण्डेले पनि उपचार खर्च लिने निर्णय भएको बताए । ‘हाम्रो अस्पतालमा पनि सरकारले पहिला निर्णय गरेअनुसार नै सामान्य लक्षण भएकाले ३५ सय मध्यमले ७ हजार र आइसीयूमा भर्ना हुनुपर्नेले १५ हजार तिर्नुपर्छ’ उनले भने ।
खाना औषधि र अरु इन्भेस्टिगेसन यही डिपोजिटभित्रै पर्ने बताउँदै पाण्डेले भने, ‘सामान्यतया अनुमानित ५ दिनको डिपोजिट गराउने नीति लिएका छौँ ।’
टेकु र सशस्त्रमा भने तत्काल शूल्क तिर्नु नपर्ने
टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले भने सरकारबाट निर्देशिका आएपछि मात्रै बिरामीबाट पैसा लिने बताए । उनले भने, ‘हामीकहाँ मन्त्रालयको पत्र र कुनै निर्देशिका नआएकाले हामीले संक्रमितलाई आजैबाट पैसा लिँदैनौँ ।’
सरकारले गरिब, विपन्न र असहायलगायत अरु केही क्षेत्रका संक्रमितलाई पैसा नलिने तर पैसा तिर्न सक्नेलाई लिने भनेको बताउँदै भण्डारीले अगाडि भने, ‘निर्देशिका आएपछि मात्र के कसो गर्ने भन्ने निर्णय हुन्छ । अहिलेसम्म हाम्रोमा त्यो निर्णय कार्यन्वयन भएको छैन ।’
निर्देशिका नआइकन कसलाई पैसा लिने र कसलाई नलिने भन्ने छुट्याउन गाह्रो हुने उनले बताए । निर्देशक भण्डारी भन्छन्, ‘त्यही पनि हाम्रो अस्पतालमा त अधिकांश विपन्न नै आउँछन् । सरकारको निर्णय ठूला निजी अस्पतालमा उपचार गराउन जाने संक्रमितलाई हो कि जस्तो लाग्छ ।’
सशस्त्र प्रहरी अस्पतालका एसएसपी डा. रुपक महर्जनले सरकारको निर्णयबारे औपचारिक जानकारी आइनसकेको बताए । त्यसपछि मात्र नयाँ निर्णय हुने भन्दै उनले भने, ‘अहिले सबै व्यवस्थापन अस्पताल प्रशासनले नै गर्दै आएको छ ।’







