तनहुँमा चाडपर्व लक्षित निषेधाज्ञा

कात्तिक ४, तनहुँ ।
कोभिड–१९ को जोखिम कायमै रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको छ ।

चाडपर्वमा सङ्क्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको जनाएको छ । निषेधाज्ञामा जिल्लाभित्र कुनै प्रकारका मेला, जात्रा, महोत्सव तथा अनावश्यक भीडभाड र जमघट गर्न निषेध गरिएको छ ।

प्रशासनले चाडपर्व मनाउँदा सकभर जो जहाँ छन् सोही ठाउँमा रही सदस्यबीच मात्रै चाडपर्व मनाउन आग्रह गरेको छ । पूजापाठलाई घरघरमै सीमित गर्न, मन्दिर र तीर्थस्थलहरुमा पुजारीबाट मात्र नित्य पूजापाठ गराउने बाहेक मठमन्दिर खुल्ला नगर्न नगराउन स्थानीय प्रशासनले सचेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

उनका अनुसार देउसीभैलो, खेलकुद, सांस्कृतिक कार्यक्रम, चियापान तथा शुभकामना कार्यक्रम गर्न पनि बन्देज गरिएको छ । कोभिड–१९ को जोखिम कम गर्दै चाडपर्व मनाउनुका साथै आफ्ना दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्नुपर्ने भएकाले सावधानी अपनाउन जिल्लावासीलाई आग्रह गरिएको छ ।

यसैगरी भीमाद नगरपालिकाले पनि अनावश्यक जमघट तथा यात्रा नगरी परिवारका सदस्यबीच मात्रै दशैं मनाउन अनुरोध गरेको छ । नगरप्रमुख मेखबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि आफ्नै परिवारका सदस्यबीच मात्रै घर घरमा नै दशैं मनाउन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको जोखिमबाट आफू बच्दै अरुलाई पनि बचाउनु सबैको कर्तव्य भएकाले चाडपर्वमा अनावश्यक यात्रा नगर्न नगरपालिकाले अनुरोध गरेको हो ।

नगरपालिकाले अनावश्यक भीडभाड हुने महोत्सव, जमघट, चियापान तथा जुवातास लगायत कानूनले निषेधित गरेको कार्य नगर्न, बिदाको समयमा अनावश्यक घुमफिर नगर्न, अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन नगरवासीमा आग्रह गरेको छ । (रासस)