सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

सिन्धुपाल्चोक – निरन्तर वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि सिन्धुपाल्चोक जिल्लाका सबै राजमार्ग तथा सडकमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गर्दै असोज ८ गतेदेखि १० गतेसम्म हरेक दिन बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरका राजमार्ग तथा सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको जनाएको छ।

नेपाल मौसम विज्ञान विभागका अनुसार असोज ८ देखि ११ गतेसम्म बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको छ।

भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन रोकिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले आपत्कालीन अवस्था उत्पन्न भएमा मौसम विज्ञान विभागको हटलाइन ११५५, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।