काठमाडौं – दुई दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहरको अन्तिम व्यवस्थापन प्रभावित भएको छ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिसडोल ल्यान्डफिल साइटमा लेदोसहितको पानी बग्न थालेपछि फोहर ढुवानी तथा व्यवस्थापनमा समस्या देखिएको हो।
फोहर व्यवस्थापनमा समस्या आएपछि प्रमुख राईले नगरवासीलाई घरमै फोहरको वर्गीकरण तथा स्रोतमा नै व्यवस्थापन गर्न आग्रह गरेकी छन्। उनले घर, पसल, व्यवसाय तथा कम्पाउन्डबाट निस्कने फोहर सडक, सार्वजनिकस्थल, खोलानाला तथा खुला ठाउँमा नफाल्न अनुरोध गरेकी छन्।
सार्वजनिकस्थल तथा खोलानालामा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानी निकासमा समेत समस्या हुने उनले बताइन्।
मौसम तथा ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि फोहर संकलन र ढुवानी नियमित रूपमा सञ्चालन गरिने राईले जानकारी दिइन्।
हाल सिसडोल ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाका १८ स्थानीय तहबाट दैनिक करिब २०० वटा गाडीमार्फत फोहर लगेर अन्तिम व्यवस्थापन हुँदै आएको छ।






