छाङ्गरु र तिङ्करमा खाद्यान्न पुर्याइने

कात्तिक ४, सुदूरपश्चिम ।
सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ ।

खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकोप्टरले मंगलबारदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ । हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले ४५ लाख रूपैयाँ बजेट निकासा गरेको छ ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीका लागि बजेट उपलब्ध गराएको हो । प्रदेश सरकारले व्यास क्षेत्रमा हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयका प्रमुख गङ्गाकुमारी मगरले बताइन् ।

पहिलो चरणमा एक सय ८० क्विन्टल खाद्यान्न ढुवानी गरिन लागेको हो । चामल, नुन, दाल, तेललगायत खाद्यान्न सामग्री ढुवानीको तयारी गरिएको बताइएको छ ।

खाद्यान्नको जोहो गर्ने जिम्मा वडालाई दिइएको छ । स्थानीयवासीको मागका आधारमा वडाले छाङ्गरु र तिङ्करको लागि खाद्यान्न ढुवानी गर्न लागेको वडासचिव विनोद तिङ्करीले बताए ।

‘आजदेखि खाद्यान्न ढुवानी गरिन्छ’, उनले भने । दशैँअघि नै खाद्यान्न पुर्याउने लक्ष्यअनुसार तयारी गरिएको हो । दुवै गाउँका सबै घरधुरीका लागि ढुवानी अनुदानमा खाद्य सामग्री हेलिकोप्टरमार्फत पु¥याउन लागिएको हो ।

असोज १९ मा व्यास गाउँपालिकाको घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको बाटो उद्घाटन गर्न दार्चुला पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको दाबी गरेका थिए ।

स्थानीयवासीले व्यासको लागि तत्काल खाद्यान्न ढुवानी गर्न पटक–पटक माग गर्दै आएका थिए । यसअघि गत असारमा मात्रै खाद्यान्न ढुवानी गरिएको थियो ।

व्यासको छाङ्गरुमा एक सय १७ घरधुरी र तिङ्करमा ७५ घरधुरीको बसोबास छ । व्यासका स्थानीयवासी आगामी मङ्सिरमा कुञ्चा अर्थात् बसाइँ सर्ने हुँदा दशैँअगावै खाद्यान्न ढुवानी गरिन लागेको हो । (रासस)