कात्तिक ४, काठमाडौं ।
दाङ र रुपन्देहीमा मंगलबार एक\एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित एक जना पुरुष र एक महिलाको मृत्यु भएको हो ।
बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उनमा सोमबार कोरोना पुष्टि भएको थियो ।
उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ती महिला मधुमेहको दीर्घरोगी थिइन् ।
यसैगरी दाङमा होम आइसोलेसनमा बसिरहेको कोरोना संक्रमितको मृत्यु भएको छ । देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको हो ।
लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो । उनी जन्डिसको बिरामी थिए ।
काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए । ‘उहाँ कलेजो बिग्रिएर कमजोर नै हुनुहुन्थ्यो, आज बिहान देहान्त भयो,’ वडाध्यक्ष बिमबहादुर केसीले भने ।
वडाध्यक्ष केसीले शव व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको जानकारी दिए ।







