सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

सुवा । भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ। सडक यातायात ठप्प हुँदा जिल्लाका विभिन्न क्षेत्रमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको छ भने कृषक र व्यवसायीसमेत आर्थिक मारमा परेका छन्।

बाढी आएको एक महिना बितिसक्दा पनि यातायात सञ्चालनमा आउन नसकेपछि रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन्। लामो समयदेखि सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका होलसेल व्यवसायीसमेत प्रभावित भएका छन्।

रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङका अनुसार बाढीअघि सामान ढुवानी सहज हुनुका साथै बजार मूल्यसमेत तुलनात्मक रूपमा सस्तो थियो। अहिले सडक अवरुद्ध हुँदा सामान ल्याउन कठिन भएको र ढुवानी खर्च अत्यधिक बढेको उहाँले बताउनुभयो।

“सडक नहुँदा सामान ल्याउनै सकिँदैन। पाइहाले पनि प्रतिपटक ढुवानी खर्च मात्रै रु ५० हजारभन्दा बढी लाग्छ,” उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा सरकारले राहत बाँड्नुभन्दा सडक सञ्जाल तत्काल जोडिदिए व्यापारी र उपभोक्ता दुवैलाई सहज हुने थियो।”

अर्का स्थानीय व्यवसायी सुन्दर श्रेष्ठले पनि सडक अवरुद्ध भएपछि मागअनुसार सामान ल्याउन नसकिएको बताउनुभयो। उहाँका अनुसार पहिले सहज रूपमा सामान भित्रिने र ढुवानी खर्चसमेत कम हुने गरेकामा अहिले अवस्था पूर्णरूपमा बदलिएको छ।

सडक अवरुद्ध हुँदा स्थानीय कृषि उत्पादनसमेत बजारसम्म पुर्‍याउन समस्या भएको छ। भौगोलिक रूपमा विकट क्षेत्रमा किसानले वर्षभरको खर्च धान्ने उद्देश्यले व्यावसायिक रूपमा उत्पादन गरेको बन्दाकोपी तथा काउली बजारसम्म पुर्‍याउन नसक्दा खेतबारीमै कुहिन थालेका छन्।

गतलाङमा उत्पादन भएको लाखौँ रुपैयाँ मूल्य बराबरको बन्दाकोपी बजारमा लैजान नसक्दा बारीमै नष्ट भएको स्थानीय फुर्पु सिङ्गी तामाङले बताउनुभयो।

“बाढी गएको एक महिना बितिसक्यो। राहतले केही महिना धानिएला, तर सधैँ राहतले पुग्दैन,” उहाँले भन्नुभयो, “कृषि उपज बजारमा लैजान नपाउँदा लगानी डुबेको छ। त्यसैले अहिले राहतभन्दा सडक सञ्जाल सञ्चालनमा ल्याउन प्राथमिकता दिनुपर्छ।”

सडक सञ्जाल विच्छेद हुँदा स्वास्थ्य सेवा पनि प्रभावित भएको छ। जटिल प्रकृतिका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल पुर्‍याउन सडक सुविधा नहुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन्।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार गरिब तथा विपन्न परिवारका लागि हेलिकप्टरमार्फत बिरामी ओसारपसार गर्न लाग्ने खर्च धान्न कठिन छ।

“जटिल बिरामी पर्दा पैसा हुनेहरू हेलिकप्टरमार्फत काठमाडौँ जान सक्छन्, तर पैसा नहुने गरिब गाउँमै मर्नुपर्ने अवस्था सिर्जना भएको छ,” उहाँले भन्नुभयो, “त्यसैले जति सक्दो चाँडो सडक सञ्चालनमा ल्याउनुको विकल्प छैन।”

दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सडक सञ्जाल पुनः सञ्चालनका लागि नुवाकोटलगायत विभिन्न क्षेत्रबाट एस्काभेटर तथा डोजर ल्याएर काम भइरहेको छ।

उहाँका अनुसार सडक खुलाउने कार्य निरन्तर भइरहेको भए पनि डाइभर्सन निर्माण तथा पुल बनाउन केही समय लाग्ने देखिएको छ। निरन्तरको वर्षाका कारण पुनःनिर्माणको काममा केही ढिलाइ भए पनि स्थानीय प्रशासनको समन्वय र सहकार्यमा सडक सञ्चालनका लागि तीव्र रूपमा काम भइरहेको उहाँले बताए।