प्रधानमन्त्री बालेन शाह काठमाडौं आइपुगे

काठमाडौं– प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर काठमाडौं फर्किएका छन्।

प्रधानमन्त्री शाह शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। उनी कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्क पुगेका थिए।

नेपाली समयअनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई करिब १४ मिनेट सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले जलवायु न्याय, नेपालले भोगिरहेका जलवायुजन्य विपद् तथा विश्व समुदायको जिम्मेवारीका विषयमा धारणा राखेका थिए।

उनको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत समाचार तथा विशेष सामग्रीका रूपमा प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण करिब १ सय घण्टाको रहेको थियो। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका थिए। यस्तै, उनले अस्ट्रेलियाका प्रधानमन्त्रीसँग साइडलाइन भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री शाह असोज ६ गते साँझ कतारको दोहा हुँदै न्यूयोर्क प्रस्थान गरेका थिए। संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिता तथा विभिन्न उच्चस्तरीय भेटवार्ता सकेर उनी काठमाडौं फर्किएका हुन्।