पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम – अविरल वर्षाका कारण मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

लगातारको वर्षाका कारण सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका तथा सीमावर्ती क्षेत्रमा करिब २५० घर डुबानमा परेका छन् ।

प्रवक्ता खनालका अनुसार हनुमाननगर कङ्कालिनी नगरपालिका–७, ११ र १२ मा कोशी बाँधको दक्षिणतर्फका थप करिब २०० घरमा पानी पसेको छ ।

लगातारको वर्षाका कारण ती क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।