बेनीमा पहिरो : १२ घरमा क्षति, सयभन्दा बढी घर जोखिममा

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–८ न्युरोडमा पहिरो खस्दा १२ घरमा क्षति पुगेको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजार पछाडिको खोरियाको पाखोबाट बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म तीन पटक पहिरो खसेको हो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार पहिरोसँगै आएको लेदो पसेर छवटा घर बस्न नमिल्ने भएका छन् भने अन्य छवटा घरमा आंशिक क्षति पुगेको छ। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

“पाखामा रहेका मुहानबाट बगेको भूमिगत पानीसँगै पहिरो खसेको छ। थप क्षति हुन नदिन प्राविधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानी तर्काउने काम भइरहेको छ,” नगरप्रमुख केसीले भने ।

पहिरोको जोखिम बढेपछि न्युरोडका बासिन्दाले बुधबार राति नै घर छाडेका थिए। कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयमा रहेका महत्वपूर्ण सामग्री तथा कागजातसमेत सुरक्षित स्थानमा सारिएको छ। बिहीबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी र अन्य सुरक्षाकर्मीले जोखिममा रहेका घरबाट सामान निकाल्न सहयोग गरिरहेका छन्।

स्थानीय चिरञ्जीवी शर्माका अनुसार पहिरोको त्रासका कारण स्थानीयवासी रातभर जाग्राम बसेका थिए। पहिरो प्रभावित घरमा डेरा गरी बस्नेका लागि खानाको व्यवस्था गरिएको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिए।

उहाँका अनुसार पछिल्ला चार दिनदेखि जमिन चिरा पर्ने क्रम बढ्दै गएको थियो। बुधबारदेखि पहिरो खस्न थालेको हो। करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइको क्षेत्रमा खरबारी चिराचिरा परेको छ।

“पाखाका रूखहरू लडेका र ढल्किएका छन्। पानीको मुहान भएको स्थानबाट सुरु भएको पहिरोले माथि र तल दुवैतर्फ असर गरेको छ,” वडाध्यक्ष कर्माचार्यले भने । पहिरोका कारण बेनी बजारमा खानेपानी आपूर्ति गर्ने मुख्य पाइपलाइनसमेत चुँडिनुका साथै विभिन्न स्थानमा भाँचिएका छन्।

पहिरोका कारण न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घर जोखिममा परेको जनाइएको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको प्राविधिक अध्ययनका लागि भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिएको बताए।

भूगर्भविद्को अध्ययन तथा सुझावपछि पहिरोको थप जोखिम र सम्भावित क्षतिको आकलन गर्न सकिने बताए। सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन प्रजिअ गैरेले बेनी बजारवासीलाई आग्रह गरिएको छ।