काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर गरेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनलाई रु तीन लाख जरिवाना गरेको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको ठहर गर्दै काठमाडौँ महानगरपालिका–१३ स्थित साल्ट ट्रेडिङ कर्पोरेशनलाई उक्त जरिवाना गरेको हो।
विभागले कर्पोरेशनका प्रज्वलमान प्रधानका नाममा पत्र पठाउँदै जरिवाना रकम बुझाउन निर्देशन दिएको छ। ऐनको दफा ३८ को खण्ड ‘ङ’ मा अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएबापत कारबाही गर्ने व्यवस्था छ।
विभागका अनुसार जरिवानाबापतको रकम आदेश प्राप्त भएको मितिले सात दिनभित्र राजस्व शीर्षक नं. १४३१२ मा दाखिला गर्नुपर्नेछ। रकम दाखिला गरेपछि बैंक भौचरको दोस्रो प्रति विभागमा पेश गर्नसमेत निर्देशन दिइएको छ।





