२४ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोबिड्-१९ को सन्दर्भमा मास्क प्रयोग सम्बन्धी नयाँ निर्देशिका (गाइडलाइन) जारी गरेको छ।
मास्कले समेत कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबैलाई अनिवार्य मास्क लगाउन सुझाव दिएको हो। यो नियम विश्वका धेरैजसो देशहरुले यसअघि नै लागु गरिसकेका छन् ।
यसअघि डब्लूएचओले सर्वसाधारण सबैले मास्क लगाउनुपर्छ भनिसकेका थिएनन्।
सबै ठाउँमा शारीरिक दूरी कायम गर्न नसकिने भएकाले स्वस्थ व्यक्तिमा कोरोना भाइरस सर्न सक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेको हो। सवारीसाधनमा यात्रा गर्दा, बजार जाँदा अर्थात् घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन निर्देशित गरेको छ।
यस्ता स्थानमा जाँदा सामान्य र स्वस्थ व्यक्तिले साधारण तथा घरमै बनाइएकाे लुगाकाे मास्क पनि लगाउन सक्ने तर ६० वर्षभन्दा माथि उमेर भएकाले अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने डब्लूएचओकाे नयाँ निर्देशिकामा उल्लेख छ।








