काठमाडौँ । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको हो।
यस अवधिमा ६२ दिनमा प्रतिनिधि सभाका ६८ वटा बैठक बसेका छन्। संसद सचिवालयका अनुसार अधिवेशनमा २७७ घण्टा ३० मिनेट संसदीय समय व्यतित भएको छ। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकसमेत गरी अधिवेशन मुख्यतः कानुन निर्माण तथा नीतिगत बहसमा केन्द्रित रह्यो।
अधिवेशन समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले यस अवधिमा संसदले १२ वटा विधेयक पारित गरेको जानकारी दिए। आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी संशोधनलगायतका महत्वपूर्ण विधेयक पारित भएका छन्।
पारित १२ विधेयकमध्ये ११ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। यस्तै, २० वटा विधेयक विभिन्न संसदीय समितिमा विचाराधीन रहेका छन् भने केही विधेयक प्रक्रियामै रहेका छन्।
अधिवेशनका क्रममा नीति तथा कार्यक्रम पारित हुनुका साथै राजस्व र व्ययको वार्षिक अनुमानमाथि विस्तृत छलफल गरिएको थियो। विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पनि सदनमा पेस भएका थिए।
त्यस्तै, सरकारका विभिन्न मन्त्रीहरूले सांसदहरूले उठाएका जनसरोकारका विषयमा प्रश्नोत्तरमार्फत जवाफ दिएका थिए।
दोस्रो अधिवेशनमा बाढी–पहिरो प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको विषयलाई समेत संसदले प्राथमिकताका साथ उठाएको थियो। भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सदनले दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको थियो।
जलवायु परिवर्तनको प्रभाव तथा विपद् व्यवस्थापनका विषयमा अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति गठन हुनु पनि अधिवेशनको महत्वपूर्ण कामका रूपमा रहेको छ।





