गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ ।
कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो ।
खसीबोका विक्रिबाट जिल्लामा वार्षिक करिब एक अर्ब रुपैयाँ बराबरसम्मको कारोबार हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिए ।
गुल्मीमा उत्पादित खसीबोका स्थानीय बजारमा मात्र नभई बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको उनको भनाइ छ । जिल्लाका प्रत्येक पालिकाबाट वार्षिक करिब ४६ हजार खसीबोका उत्पादन हुने गरेको तथा हाल करिब दुई लाखको सङ्ख्यामा बाख्रा रहेको पशु सेवा केन्द्र गुल्मीले जनाएको छ ।
प्रमुख पाण्डेयका अनुसार जिल्लाबाट वार्षिक १४ हजार ६०० खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेका छन् । उनका अनुसार जिल्ला बाहिर निर्यात हुने खसीबोकाबाट वार्षिक करिब २६ करोड २८ लाख रुपैयाँ जिल्ला भित्रिने गरेको छ ।
जिल्लामा उत्पादित खसी बोका उचित मूल्यमा सहज रूपमा घरबाटै बिक्री हुने भएकाले पनि किसानलाई यो व्यवसायप्रतिको आकर्षण बढेको हो ।
जिल्लाका सबै पालिकामा पालिने भए पनि खासगरी धुर्काेट पालिका मासुमा आत्मनिर्भर छ । यहाँ उत्पादित खसी बोका जिउँदो प्रतिकिलो ५५० का दरले बिक्री वितरण हुँदै आएको धुर्काेट गाउँपालिका अध्यक्ष भूपाल पोखरेल बताए ।
स्थानीय चन्द्रबहादुर खड्काको खोरबाट यस वर्ष पनि ७० किलो तौलसम्मका खसीबोका बिक्री भएका छन् । धुर्काेट क्षेत्रमा उत्पादित खसीबोका बुटवललगायतका सहरमा पठाइने गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
गुल्मीको स्थानीय बजारमा खसी र बोकाको मासु प्रतिकिलो रु ९५० का दरले बिक्री हुँदै आएको छ । त्यस्तै जिल्लाका विभिन्न पालिकामा व्यावसायिक रूपमा बाख्रापालन हुँदै आएको छ ।
यहाँ उत्पादित केही उन्नत जातका बोका प्रजननका लागि समेत अन्य जिल्लामा पठाइने गरेको छ । जिल्लामा खासगरी जमुनापारी खरीक्रस, बोयर खरीक्रस र सिरोही खरीक्रस जातका बाख्रापालन हुँदै आएको केन्द्रले जनाएको छ ।
वार्षिक करिब ६०० को सङ्ख्यामा प्रजननका लागि बोका जिल्ला बाहिर बिक्री हुने गरेको छ । त्यस्तै वार्षिक १४ हजार खसीबोका मासुका लागि जिल्ला बाहिर बिक्रीका लागि पठाइने गरिएको छ ।
पछिल्लो आर्थिक वर्षमा स्थानीय तह तथा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका ४२१ वटा बाख्रा फार्ममा करिब दुई लाख बाख्रा रहेको विज्ञ केन्द्रले जनाएको छ ।
पशु सेवा विज्ञ केन्द्रले बाख्रापालन गर्ने किसान तथा समूहलाई खोर निर्माण, उन्नत जातका बीउ बोका, औषधि उपचार, खोप, मेसिनरी सामग्री खरिदलगायत प्राविधिक क्षेत्रमा सहयोग गर्दै आएको प्रमुख पाण्डेयले बताए ।
कार्यालयले किसानका फार्ममै पुगेर बाख्रामा लाग्ने विभिन्न रोगविरुद्ध निःशुल्क खोप कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । त्यसबाट बाख्रामा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा क्षति न्यूनीकरणमा सहयोग पुगेको कार्यालयले जनाएको छ ।
खसीबोका पालनबाट राम्रो आम्दानी हुँदै आए पनि युवाको विदेश पलायन र बसाइसराइलगायत कारणले पछिल्लो समय व्यावसायिक किसानको सङ्ख्या भने तुलनात्मक रूपमा घट्दै गएको अनुमान गरिएको छ ।
खसीबाख्राका लागि आवश्यक खुराक घाँस तथा व्यवस्थापन गर्ने जनशक्तिको अभावजस्ता समस्या बाख्रापालन व्यवसायमा रहेको रेसुङ्गा कृषि तथा पशुपन्छी फार्मका सञ्चालक केशर रजालीले बताउँछन् । रासस





