नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० जना घाइते

नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान करिब पौने ४ बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार चालकले बस नियन्त्रणमा लिन नसक्दा सडकबाट नालीमा खसेर दुर्घटना भएको हो ।

बसमा चालकसहित १८ जना सवार थिए । तीमध्ये दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लालबहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी घाइते भएका छन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएको जनाएको छ ।