काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै उपभोक्ता मारमा परेका छन् । बजारमा खाद्यान्न, तेल, दाल तथा मसलालगायतका वस्तुको मूल्य बढिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले भने संसद्मा बजारमा मूल्य १० प्रतिशतले घटेको दाबी गरेका छन् ।
गत असोज ८ गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद कृष्णप्रसाद अधिकारीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री साहले बजार अनुगमन र मूल्य नियन्त्रणका लागि सरकार गम्भीर रहेको दाबी गरेका थिए ।
उनले खाद्यान्नमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न खुद्रा व्यवसायी तथा वितरकसँग छलफल गरी मूल्य १० देखि १५ प्रतिशतसम्म घटाउन निर्देशन दिएको र त्यसको परिणामस्वरूप बजारमा १० प्रतिशतले मूल्य घटेको बताएका थिए ।
तर, नेपाल खुद्रा व्यापार सङ्घको वैशाख र असोजको खुद्रा बिक्री मूल्य सूची तुलना गर्दा अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य घटेको देखिँदैन । बरु विभिन्न खाद्यान्न, दाल, तेल तथा मसलाको मूल्य बढेको तथ्याङ्कले देखाउँछ ।
सङ्घको मूल्य सूचीअनुसार पछिल्लो ६ महिनामा धनियाँ पाउडरको मूल्य प्रतिकिलो १२५ रुपैयाँले बढेर ४७५ रुपैयाँ पुगेको छ । चना दाल ३० रुपैयाँले बढेर १८०, काँचो बदाम ४० रुपैयाँले बढेर २९० तथा काँचो तोरीको तेल प्रतिलिटर २५ रुपैयाँले बढेर ४०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, मासको दाल २० रुपैयाँ, जिरा पाउडर २५ रुपैयाँ, बेसार पाउडर २५ रुपैयाँ, डाल्डा घिउ ३० रुपैयाँ, धनियाँ गेडा ९० रुपैयाँ र सेतो भटमास ३० रुपैयाँले महँगिएको छ ।
६ महिनामा खाद्यान्न तथा मसलाको मूल्य ३६ प्रतिशतसम्म वृद्धि
वैशाख र असोजको मूल्य तुलना गर्दा धनियाँ पाउडरको मूल्य सबैभन्दा धेरै ३५.७१ प्रतिशतले बढेको देखिन्छ । धनियाँ गेडा ३० प्रतिशत, सेतो भटमास २१.४३ प्रतिशत र चना दाल २० प्रतिशतले महँगिएको छ ।
यसैगरी काँचो बदामको मूल्य १६ प्रतिशत, सानो चनाको करिब १५.५ प्रतिशत, डाल्डा घिउको ११.५४ प्रतिशत, स्टिम जिरा मसिनो चामलको १०.५३ प्रतिशत र मास दालको मूल्य १० प्रतिशतले बढेको सङ्घको तथ्याङ्कमा उल्लेख छ ।
अन्य चामल, तेल, चिनी तथा गेडागुडीको मूल्यमा पनि विभिन्न दरमा वृद्धि भएको देखिन्छ । यसरी हेर्दा मन्त्री साहले संसद्मा गरेको मूल्य घटेको दाबी र खुद्रा व्यापार सङ्घको मूल्य सूचीबीच स्पष्ट अन्तर देखिएको छ ।
नेतृत्वविहीन वाणिज्य विभाग
यसैबीच, चाडपर्वको समयमा बजार अनुगमन तीव्र बनाउनुपर्ने बेला वाणिज्य विभाग महानिर्देशकविहीन बनेको छ ।
गत भदौ २४ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा दीपक कुमार साह नियुक्त भएका थिए । त्यसको भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य विभागका महानिर्देशक मोतीराम सापकोटालाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सापकोटाले असोज १२ गते गुल्मीको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका छन् ।
महानिर्देशक सरुवा भएको केही समय बितिसक्दा पनि विभागमा नयाँ महानिर्देशक नियुक्त हुन नसक्दा बजार अनुगमनको प्रभावकारितामाथि प्रश्न उठेको छ ।
उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्रबहादुर बस्नेतले भने महानिर्देशक नभए पनि विभागको नियमित काम प्रभावित नभएको बताएका छन् । उनका अनुसार निमित्तको जिम्मेवारी दिएर बजार अनुगमनलाई निरन्तरता दिइएको छ ।
तर, महानिर्देशकले अर्धन्यायिक निकायको प्रमुखका रूपमा गर्नुपर्ने केही महत्त्वपूर्ण निर्णय भने रोकिएको उनले स्वीकार गरेका छन् ।
उनका अनुसार बजार अनुगमन टोलीले निरीक्षणलाई निरन्तरता दिए पनि गम्भीर प्रकृतिका कैफियतमा तत्काल गर्नुपर्ने केही कारबाही तथा निर्णय महानिर्देशकको अभावका कारण प्रभावित भएका छन् ।
चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने र मूल्यसमेत बढ्न सक्ने अवस्थामा बजार अनुगमन गर्ने निकायको नेतृत्व रिक्त रहनुले मूल्य नियन्त्रण र उपभोक्ता संरक्षणको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
कुन वस्तुको मूल्य कति बढ्यो ?
| विवरण (प्रतिकिलो/लिटर) | वैशाखको मूल्य (रु.) | असोजको मूल्य (रु.) | कतिले बढ्यो ? |
| स्टिम जिरा मसिना चामल | ९५ | १०५ | १० |
| लङ्ग्रेन वासमति चामल | १८० | १९० | १० |
| ताइचिन चिउरा | १९० | २०० | १० |
| मास दाल | २०० | २२० | २० |
| मुंग गेडा | २०० | २१० | १० |
| रहर दाल | २२० | २३० | १० |
| चना दाल | १५० | १८० | ३० |
| भुटेको तोरीको तेल | ४५० | ४६० | १० |
| काँचो तोरीको तेल | ३७५ | ४०० | २५ |
| भटमास तेल | २९० | २९५ | ५ |
| सनफ्लावर तेल | २९५ | ३०५ | १० |
| डाल्डा घ्यू | २६० | २९० | ३० |
| जिरा पाउडर | ७५० | ७७५ | २५ |
| धनियाँ पाउडर | ३५० | ४७५ | १२५ |
| बेसार पाउडर | ५०० | ५२५ | २५ |
| चिनी | १०५ | ११० | ५ |
| सेतो भटमास | १४० | १७० | ३० |
| सानो चना | १३० | १५० | २० |
| राजमा | २६० | २६५ | ५ |
| मकै पिठो | ८५ | ९० | ५ |
| चामल पिठो खस्रो | ९० | ९५ | ५ |
| धनियाँ गेडा | ३०० | ३९० | ९० |
| काँचो बदाम | २५० | २९० | ४० |
| मुरली मकै | १३० | १४० | १० |
स्रोत: खुद्रा व्यापार संघ






