काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाँच जिल्लाका प्रमुख सडक तथा राजमार्ग अवरुद्ध छन् ।
प्रहरीका अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी पूर्व र हुम्लाका सडक बाढी तथा पहिरोका कारण प्रभावित भएका हुन् ।
रसुवाका सबै मुख्य राजमार्ग बाढीपहिरोका कारण अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मनाङको बेंसीसहर–खाङसार सडक, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड र हुम्लाको सिमकोट–हिल्सा सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।
यसैगरी, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।







