काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिकको भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार आयोजना गरेको ‘सुरक्षित समाज, सुदृढ समाज : डेटामा आधारित सुशासनको अनुभव आदानप्रदान’ विषयक छलफलमा राठौरले सवारी चालकको लापरवाहीले चालक स्वयंसँगै परिवार तथा अन्य सडक प्रयोगकर्ताको जीवनमा समेत गम्भीर असर पार्ने बताए ।
उनले सडकमा सवारी चलाउँदा चालकले जिम्मेवारी र सावधानी अपनाउनुपर्नेमा जोड दिए । सडक सुरक्षासम्बन्धी भारतीय विज्ञ वेङ्कटेश वालासूत्रपणीयनले चालक सचेत र जिम्मेवार भएमा सडक दुर्घटना न्यूनीकरण गर्न सकिने धारणा राखे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धिका लागि ट्राफिक प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका प्रहरी अधिकृत तथा सञ्चारकर्मीको सहभागिता थियो ।






