सुनसरी । धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान केन्द्र) सञ्चालनमा आएपछि किसानलाई आफ्ना कृषि उत्पादन सुरक्षित राख्न सहज भएको छ।
यसअघि तत्काल बिक्री नभएका फलफूल तथा तरकारी कुहिएर खेर जाने वा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेकामा शीतगृह सञ्चालनमा आएपछि किसानले उत्पादन भण्डारण गरेर पछि बिक्री गर्न थालेका छन्।
इटहरीका व्यापारी उमेश खड्काका अनुसार फलफूल एकैपटक पाक्दा बजारमा तत्काल बिक्री गर्नुपर्ने बाध्यता थियो। तर, अहिले ड्रागन फ्रुटलगायत फलफूल शीतगृहमा राखेर दुई सातापछि बिक्री गर्न सकिने भएकाले किसान तथा व्यापारीलाई सहज भएको छ।
“दुई हप्तासम्म शीतगृहमा राख्दा पनि फलफूल नबिग्रिने भएकाले बजारमा बिक्री गर्न सहज भएको छ,” खड्काले भने।
धनकुटाका व्यापारी उमेश राईले पनि शीतगृह सञ्चालनमा आएपछि कृषि उपज बिक्री र भण्डारणमा ठूलो सहजता भएको बताए। लामो दूरीबाट धरान ल्याएका कृषि उपज बिक्री नभएर फाल्नुपर्ने वा सित्तैमा बाँड्नुपर्ने अवस्था अन्त्य भएको उनको भनाइ छ।
उनका अनुसार गर्मी मौसममा फलफूल तथा तरकारी एक दिनमै बिग्रिने समस्या हुने गरेकामा अहिले बिक्री नभएको उत्पादन शीतगृहमा राखेर पछि बजारमा ल्याउन सकिने भएको छ।
धरानको कृषि उपज बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभा र खोटाङलगायत पहाडी जिल्लाबाट समेत किसान तथा व्यापारी कृषि उपज बिक्रीका लागि आउने गरेका छन्। शीतगृह ती किसानका लागि उत्पादन सुरक्षित राख्ने महत्वपूर्ण माध्यम बनेको छ।
पहिलो शीतगृह कोशी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा बाली विशेष भण्डार गृह निर्माण कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु ४९ लाख ८३ हजार ३०० र कृषि उपज बजार व्यवस्थापन समितिको रु २६ लाख ९७ हजार ८४० गरी कुल रु ७६ लाख ८१ हजार १४० को लागतमा निर्माण गरिएको हो।
शीतगृहमा कृषि उपज भण्डारण गर्ने किसान तथा व्यापारीको माग बढेपछि आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको थियो। बजार व्यवस्थापन समितिले रु १७ लाख थप गरेपछि कुल रु ६७ लाखको लागतमा अर्को शीतगृह निर्माण गरिएको कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताए।
अहिले शीतगृहमा छ वटा च्याम्बर रहेका छन्। एउटा च्याम्बरमा २५ देखि ३० टनसम्म कृषि उपज भण्डारण गर्न सकिन्छ। तीमध्ये २५ टन क्षमताको एउटा च्याम्बर किसानका लागि आरक्षण गरिएको छ।
शून्य डिग्री तापक्रम कायम रहने शीतगृहमा अहिले आलुको बीउ, जुम्ली स्याउ, नौनी घिउ र भारतबाट ल्याइएको सयपत्री फूल भण्डारण गरिएको छ। व्यवस्थापक भट्टराईका अनुसार ड्रागन फ्रुट एक महिनासम्म, किबी तीन महिनासम्म, आलुको बीउ एक वर्षसम्म र हरियो तरकारी एक साताभन्दा बढी समयसम्म भण्डारण गर्न सकिन्छ।
कृषि उपज भण्डारण गरेबापत किसानले प्रतिकिलो प्रतिमहिना रु २ रुपैयाँ ५० पैसा शुल्क तिर्नुपर्ने व्यवस्था छ। व्यापारीले बाहिरबाट खरिद गरेर ल्याएका स्याउ, अङ्गुर र अनारलगायत फलफूलसमेत शीतगृहमा राख्ने गरेका छन्।
यसैबीच, आँप, केरा, भुइँकटहरलगायत फलफूललाई रसायन प्रयोग नगरी तापक्रम मिलाएर पकाउन थप च्याम्बर निर्माण भइरहेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र धरान कृषि उपज बजार व्यवस्थापन समितिको ५०/५० प्रतिशत साझेदारीमा निर्माण हुने उक्त च्याम्बरबाट आगामी असारदेखि सेवा दिने तयारी गरिएको भट्टराईले बताए।
धरानस्थित कृषि उपज बजारमा दैनिक एक हजारभन्दा बढी किसान र करिब २०० व्यापारीबीच कारोबार हुने गरेको छ। विशेषगरी गर्मी मौसममा शीतगृहबाट किसानलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, शीतगृह सञ्चालनमा विद्युत् महसुल भने ठूलो चुनौती बनेको व्यवस्थापनको भनाइ छ। विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोडिँदा सञ्चालन खर्च बढेको र शीतगृहबाट हुने आम्दानीले मुस्किलले विद्युत् महसुल धानिरहेको व्यवस्थापक भट्टराईले बताए।
“सरकारले विद्युत् महसुलमा ५० प्रतिशत छुट दिए शीतगृह सञ्चालन सहज हुने थियो,” उनले भने।






