मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ। इन्धन आपूर्ति प्रभावित हुँदा सडक मर्मतसँगै सङ्घीय, प्रदेश र स्थानीय तहअन्तर्गतका विकास निर्माणका कामसमेत प्रभावित भएका छन्।
असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा कोरला नाकासम्म हुने इन्धन तथा निर्माण सामग्रीको ढुवानी रोकिएको छ।
म्याग्दी–मुस्ताङ सीमास्थित थासाङ गाउँपालिका–४ घाँसामा सञ्चालनमा रहेको एक पेट्रोल पम्पमा समेत इन्धनको मौज्दात घट्दै गएको छ। बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतका लागि घाँसास्थित पम्पमा हालसम्म करिब ७०० लिटर डिजेल मात्र उपलब्ध गराउन सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए।
म्याग्दीको गलेश्वर र तातोपानीबाट दुईतर्फी रूपमा सडक मर्मतको काम अघि बढाउने प्रयास भइरहेको भए पनि पर्याप्त इन्धन उपलब्ध नहुँदा समस्या भइरहेको उनले बताए।
एक साताभन्दा लामो समयदेखि सडक अवरुद्ध हुँदा निर्माण व्यवसायीले मौज्दात राखेको डिजेलसमेत सकिँदै गएको छ। पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख रविन चोख्यालका अनुसार सडकमार्ग लामो समय अवरुद्ध हुँदा निर्माण सामग्री र इन्धनको आपूर्ति हुन नसकेपछि जिल्लाका विकास निर्माणका काम प्रभावित भएका छन्।
निर्माण व्यवसायीले आवश्यकताअनुसार निर्माण सामग्री र इन्धनको व्यवस्थापन गर्दै आए पनि मौज्दात इन्धन सकिँदै गएपछि निर्माण उपकरण सञ्चालनमा समस्या देखिएको चोख्यालले बताए।
थासाङ गाउँपालिकाका निर्माण व्यवसायी नविन शेरचनले एक सातादेखि सडक अवरुद्ध हुँदा इन्धन ढुवानी हुन नसकेको र त्यसको प्रत्यक्ष असर विकास निर्माणका काममा परेको बताए। उनका अनुसार थासाङ क्षेत्रमा मात्रै दर्जनौँ निर्माण व्यवसायीका उपकरण इन्धन अभावका कारण सञ्चालन गर्न नसक्ने अवस्था बनेको छ।
सडक अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलको समेत अभाव देखिन थालेको छ। सामान्य अवस्थामा पोखराबाट ब्यारेलमा पेट्रोल ढुवानी गरी बिक्री गरिने भए पनि अहिले केही पसलमा पेट्रोलको मौज्दात सकिएको छ।
इन्धन आपूर्ति रोकिएपछि जिल्लाका केही क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यसमेत बढ्न थालेको स्थानीयको भनाइ छ। सामान्य अवस्थामा प्रतिलिटर रु २२५ मा बिक्री हुने पेट्रोल अभावको मौका छोपेर बढी मूल्यमा बिक्री हुन थालेको बताइएको छ।
इन्धन अभावसँगै मुस्ताङमा दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत प्रभावित भएको छ। सडक अवरुद्धका कारण आपूर्ति घट्दा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्न थालेपछि सर्वसाधारणसमेत प्रभावित भएका छन्।






