रुपन्देहीमा गोली हानेर बालिका अपहरणकारी पक्राउ, ३८ घण्टापछि सकुशल उद्धार

रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ।

तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई प्रहरीले आइतबार राति तिलोत्तमाको कान्छी बजारस्थित जंगलबाट पक्राउ गरेको हो।

बालिका अपहरणपछि फरार रहेका थारुको खोजी गर्ने क्रममा प्रहरीले उनलाई जंगलमा फेला पारेको थियो। पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। गोली लागेर उनको खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।

प्रहरीका अनुसार थारुले बुधबार राति घरभित्र सुतिरहेकी बालिकालाई अपहरण गरेका थिए। राति करिब २ बजे बालिकालाई कपडा ओढाइदिन खोज्दा हजुरआमाले उनलाई नदेखेपछि परिवारमा हल्लाखल्ला भएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास र स्थानीय जंगलमा खोजी थालेको थियो। खोजीका क्रममा अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्ने आधार फेला परेको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ करिब ७ बजे कान्छी बजारस्थित जंगलबाट अपहरण भएको करिब ३८ घण्टापछि बालिकाको सकुशल उद्धार गरिएको थियो। बालिका उद्धार भए पनि घटनामा संलग्न थारु भने फरार भएका थिए।

बालिका भेटिएको स्थानमा फेला परेको मोबाइल फोनका आधारमा प्रहरीले थारुको पहिचान गरेको जनाएको छ। त्यसपछि उनको खोजी तीव्र पारिएको थियो। जंगलमै लुकेर बसेको आशंकामा प्रहरीले निरन्तर खोजी गरिरहेको थियो। सोही क्रममा आइतबार राति करिब १ बजे उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार बालिका हाल सुरक्षामा छिन्। उनको स्वास्थ्य परीक्षणसमेत गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बालिकाका काका जितेन्द्र मल्लाहका अनुसार उनका दाजु मजदुरी गर्छन् भने भाउजू गृहिणी हुन्। बालिका हजुरबुवा–हजुरआमासँग बस्दै आएकी थिइन्। उनका अनुसार परिवारमा एक छोरा र चार छोरी छन्।

मल्लाहले बालिकालाई राति सुतिरहेको अवस्थामा तन्नासहित बाहिर लगिएको बताएका छन्। उनका अनुसार घटनामा संलग्न व्यक्ति आपराधिक गतिविधिमा संलग्न रहेको परिवारको आशंका छ।

उद्धारपछि बालिकाले आफूलाई जंगलमा लैजाने व्यक्तिलाई नचिनेको बताएकी छन्। उनले आफूमाथि दुर्व्यवहार भएको समेत संकेत गरेको परिवारले जनाएको छ। प्रहरीले यस विषयमा समेत अनुसन्धान गरिरहेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बालिकाको सकुशल उद्धारलाई प्राथमिकतामा राखेर खोजी अभियान सञ्चालन गरिएको बताए।

उनका अनुसार अपहरणकारी आपराधिक सोचको व्यक्ति भएकाले बालिकालाई कुनै क्षति पुर्‍याउन सक्ने जोखिमलाई ध्यानमा राखेर प्रहरीले सावधानीपूर्वक खोजी गरेको थियो। स्थानीयको सहयोगमा जंगललाई घेराबन्दी गरेर खोजी गर्दा आरोपितले बालिकालाई छाडेर भागेको प्रहरीले जनाएको छ।

शुक्रबार पक्राउ गर्न नसकिएपछि शनिबार पनि विभिन्न स्थानमा खोजी गरिएको र भाग्ने क्रममा आइतबार राति गोली चलाएर नियन्त्रणमा लिन सफल भएको डीएसपी श्रीवास्तवले बताए।

प्रहरीले पक्राउ परेका थारुमाथि अपहरण तथा बालिकामाथि भएको भनिएको दुर्व्यवहारसम्बन्धी घटनामा थप अनुसन्धान अघि बढाएको छ।