कात्तिक ५, काठमाडौं ।
चाडपर्वको अघिल्लो महिनामा समेत राजस्व लक्ष्य भेट्न सरकार असफल भएको छ । दशैँ र तिहारको अघिल्लो महिनामा राजस्व लक्ष्य भन्दा बढी उठ्ने गर्छ ।
तर यो वर्ष भने कोरोना संक्रमणका कारण असोजमा लक्ष्य अनुसार राजस्व उठ्न सकेन । भन्सार विभागले लक्ष्य भन्दा ४ अर्ब कम राजस्व संकलन गरेको छ ।
असोज महिनामा ४२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखको विभागले ३७ अर्ब ७९ करोड मात्रै राजस्व संकलन गरेको छ । असोजमा राजस्व संकलन हुने सवारी साधन र सुन आयातमा भारी गिरावट आएको छ ।
यस्तै आन्तरिक राजस्वबाट असोजमा लक्ष्यभन्दा १ सय ३८ अर्ब कम राजस्व संकलन भएको छ । यो महिना २५ अर्ब ५६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा २४ अर्ब १८ करोड संकलन भएको छ ।
कोभिड महामारी सुरुभएसँगै अन्तःशुल्क राजस्वमा आएको गिरावट रोकिएको छैन । दशैंको अघि समेत विभागले लक्ष्य भेटेन ।
अन्तःशुल्क संकलनमा ८ अर्ब ८६ करोड लक्ष्य लिएकोमा ७ अर्ब ५५ मात्रै संकलन भएको छ । कोभिडको कारण होटल रेस्टुरेन्ट बन्द हुँदा मदिरा व्यावसायमा निरन्तर गिरावट आइरहेको छ ।
आयकर लक्ष्यको भन्दा ३ प्रतिशतले बढी संकलन भएको छ । तीन महिनामा ३२ अर्ब १६ करोड राजस्व संकलनको लक्ष्य लिइएकोमा ३३ अर्ब ३१ करोड राजस्व संकलन भएको छ ।
असोजमा समेत आयकर संकलनको लक्ष्य नाघेको छ । यो महिना आयकर ९ अर्ब २० करोड लक्ष्य रहेकोमा ९ अर्ब ६६ करोड संकलन भएको छ । यसैगरी मुल्य अभिवृद्धि कर (भ्याट) संकलनमा भने यो महिना गिरावट आएको छ ।
यो महिना ७ अर्ब २ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा ६ अर्ब ४१ मात्रै भ्याट संकलन गरेको हो । पहिलो ३ महिनामा ८२ अर्ब ६४ करोड लक्ष्य लिएको विभागले ७९ अर्ब ९६ अर्ब राजस्व संकलन गरेको छ । गत वर्षको असोजमा ८० अर्बको हाराहारीमा राजस्व संकलन भएको थियो ।
सरकारले असोजमा ६५ अर्ब राजस्व संकलन गरेको महालेखा कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयको तथ्यांक अनुसार चालु वर्षको ३ महिनामा १ खर्ब ७२ अर्ब राजस्व संकलन भएको छ ।
जसमा १ खर्ब ६३ अर्ब ४२ करोड कर राजस्व र ८ अर्ब ९३ करोड गैरकर राजस्व संकलन भएको देखिएको छ ।







