किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–७ फर्सेस्थित शिव माध्यमिक विद्यालयका विद्यार्थीको कापी–किताब, पोसाक र झोला बगाएपछि उनीहरुको पढाइ प्रभावित भएको छ।

असोज ११ गते राति आएको बाढीले लस्ती क्षेत्रमा ठूलो क्षति पुर्‍याउँदा विद्यालयमा अध्ययनरत करिब ४० विद्यार्थीका शैक्षिक सामग्री बगेका हुन्। खाद्यान्न, लत्ताकपडा र पाललगायतका राहत सामग्री पुगे पनि बाढीले बगाएका कापी–किताब तथा विद्यालय पोसाकको व्यवस्थापनमा भने कसैको पर्याप्त ध्यान पुग्न सकेको छैन।

कक्षा १० मा अध्ययनरत दिवस केसीको घरगोठसहित कापी–किताब, झोला र विद्यालय पोसाक सबै बाढीले बगाएको छ। परीक्षा नजिकिँदै गर्दा पढ्ने सामग्री नै नभएपछि उनी चिन्तित छन्।

“परीक्षा आउने बेला भयो, किताब छैन, के पढ्ने ? बजारमा खोज्न गए पनि कापीकिताब पाइँदैन,” दिवसले भने।

कक्षा ९ मा अध्ययनरत उनकी दिदी दीपा पनि कापीकिताब बगेपछि पढाइ कसरी अघि बढाउने भन्ने चिन्तामा छिन्। बाढीपछि विस्थापित भएका बालबालिका अहिले बासका लागि बनाइएका अस्थायी टहरा तथा आफन्तका घरमा बसिरहेका छन्।

राहत वितरणका लागि विभिन्न संघसंस्था तथा समूहहरु पुगे पनि अधिकांशले खाद्यान्न, कपडा र त्रिपाललगायतका सामग्री मात्रै वितरण गरेका छन्। राहत लिन सडकछेउमा पुग्ने स्थानीयले आफ्ना बालबालिकाका कापीकिताब पनि आउँछन् कि भनेर पर्खिने गरेको कक्षा ८ का सुलभ थापा बताउँछन्।

स्थानीय पार्वती आचार्यले पीडितको अवस्था बुझ्न आउनेहरुबाट पनि बालबालिकाको पढाइबारे चासो नदिइएको बताइन्। “पीडितको घरछेउमा गएर कठैबरा भनिदिनेहरुले त झन् पीर पार्ने रहेछ,” उनले भनिन्, “केही शान्त भएको मन फेरि अशान्त भएको छ।”

बाढीका कारण शिव माध्यमिक विद्यालयसमेत प्रभावित भएको छ। विद्यालय भवनमा सामान्य क्षति पुगे पनि अधिकांश विद्यार्थीका अभिभावक घरबारविहीन भएकाले विद्यालय सञ्चालनमा समस्या भएको प्रधानाध्यापक अमृत सापकोटाले बताए।

“शैक्षिक वर्षको मध्य भाग भयो, किताब पाउने समस्या छ। उनीहरुलाई कसरी पढ्ने व्यवस्था गर्ने भन्ने हामीलाई निकै समस्या परेको छ,” उनले भने।

उनका अनुसार विद्यार्थीहरुले बाढीले बगाएको घर रहेको बगरमा पुगेर बालुवामा पुरिएका कापीकिताब खोज्ने गरेका छन्। कक्षा ८ का दिवस विक, कक्षा १ का रेमन विक, निकिता शाह, कृतिका आचार्य, बिना केसी र उदय विकलगायतका विद्यार्थी दिउँसो बगरमा पुगेर किताब खोज्ने गरे पनि अहिलेसम्म भेट्टाउन सकेका छैनन्।

“एउटा पेन्सिल र इरेजर पनि बालबालिकाका लागि अहिले निकै महत्वपूर्ण छ,” प्रधानाध्यापक सापकोटाले भने।

विद्यालयका शिक्षिका लक्ष्मी मल्ल थापाको परिवारसमेत बाढीबाट प्रभावित भएको छ। उनको घरखेत बग्नुका साथै उनी सुत्केरी अवस्थामा छिन्। घर गुमेपछि उनी पति अर्जुन र तीन छोरासहित छिमेकीको आश्रयमा बस्दै आएकी छन्। शिक्षककै परिवारका बालबालिकासमेत कापीकिताबविहीन भएका छन्।

बाढीले कालीगण्डकीमाथिको झोलुङ्गे पुलसमेत बगाएपछि बागलुङको ढोडेनीबाट विद्यालय आउने विद्यार्थी र एक शिक्षकलाई पनि समस्या भएको छ। यसअघि पाँच मिनेटमा विद्यालय पुग्ने उनीहरुले अहिले करिब दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको छ।

बाढीले फर्से क्षेत्रमा ७१ घरमा बालुवा र हिलो पसाएर घरभित्रका खाद्यान्नसहितका सामग्री नष्ट गरेको छ। कतिपय घरमा बाँकी रहेका अन्नसमेत हिलोले पुरिएका छन्। स्थानीय दीपा कार्कीले मदुसमा राखेको धानसमेत हिलोले पुरिएपछि माथिल्लो तहको हिलो हटाएर केही धान सुकाएको बताइन्।

“सबै सामान बगे पनि मदुसमा धान थियो। हेर्न जाँदा हिलोले भरिएको रहेछ। माथिको हिलो फालेर एक मान्द्रो धान सुकाएकी छु। पखालेर केही बाँकी रहन्छ कि ?” उनले भनिन्।

बाढीबाट विस्थापित स्थानीयलाई अब यही ठाउँमा बस्ने कि अन्यत्र जाने भन्ने अन्योलसमेत छ। सुरक्षित स्थानमा बसोबासका लागि उनीहरुसँग वैकल्पिक जग्गा छैन।

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बाढीबाट विस्थापित परिवारको लगत संकलन भइरहेको र पुनःस्थापनाका लागि जिल्ला प्रशासन कार्यालय तथा गाउँपालिकाले पहल गरिरहेको जानकारी दिए।

स्थानीयका अनुसार तत्काल खाद्यान्न र आवासको समस्या समाधानसँगै बाढीले शैक्षिक सामग्री गुमाएका बालबालिकाका लागि कापी, किताब, झोला, पोसाकलगायतका सामग्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।