स्लो ओभर रेटका कारण भारत र वेस्ट इन्डिजलाई जरिवाना

काठमाडौं । भारत र वेस्ट इन्डिजलाई तीन खेलको एकदिवसीय शृंखलाको अन्तिम खेलमा स्लो ओभर रेट कायम गरेको भन्दै जरिवाना गरिएको छ ।

शनिबार न्यु चण्डीगढमा सम्पन्न खेलमा भारतलाई खेलाडीको म्याच फीको २० प्रतिशत तथा वेस्ट इन्डिजलाई १० प्रतिशत जरिवाना गरिएको हो ।

आईसीसी इन्टरनेसनल प्यानल अफ म्याच रेफ्रीका प्रकाश भट्टले समय छुटको गणना गरेपछि भारत निर्धारित समयभन्दा चार ओभर र वेस्ट इन्डिज दुई ओभर कम भएको निष्कर्ष निकालेका थिए ।

आईसीसीको आचारसंहिताको धारा २.२२ अनुसार निर्धारित समयमा कम ओभर फ्याँकेमा प्रत्येक ओभरका लागि खेलाडीको म्याच फीको पाँच प्रतिशत जरिवाना हुने व्यवस्था छ ।

दुवै टोलीका कप्तानले आफ्नो गल्ती स्वीकार गर्दै प्रस्तावित कारबाही मानेपछि औपचारिक सुनुवाइ आवश्यक नपरेको आईसीसीले जनाएको छ ।

मैदानका अम्पायर जयरामन मदनगोपाल र साम नोगाज्की, तेस्रो अम्पायर शर्फुद्दौला इब्ने शाहिद तथा चौथो अम्पायर विरेन्द्र शर्माले स्लो ओभर रेट भएको ठहर गरेका थिए ।