काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार बसेको बन्द सत्रले संशोधित विधान पारित गरेको छ। महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधानलाई खुलामञ्चमा जारी बन्द सत्रले पारित गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानअनुसार पार्टीको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ।
नयाँ व्यवस्थाअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन्। चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ। त्यस्तै तीन जना महामन्त्रीमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।
सहमहामन्त्रीको संख्या १५ जना कायम गरिएको छ। कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूमध्येबाट एक जना चयन हुनेछन्। प्रवक्ता र सहप्रवक्ताको व्यवस्था पनि गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ जना र खुला महिलाबाट १५ जना रहनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना तथा काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
समावेशी समूहअन्तर्गत दलिततर्फ १४ जना, जनजातितर्फ २० जना, खस आर्यतर्फ १८ जना, मधेसीतर्फ १३ जना, थारूतर्फ ६ जना तथा जनसम्पर्क समितिबाट सात जना केन्द्रीय सदस्य रहनेछन्। दलिततर्फ पाँच महिला र एक मधेसी, जनजातितर्फ आठ महिला, खस आर्यतर्फ आठ महिला, मधेसीतर्फ पाँच महिला, थारूतर्फ दुई महिला तथा जनसम्पर्क समितिबाट दुई महिला रहने व्यवस्था गरिएको छ।
त्यस्तै पिछडिएको वर्गबाट तीन जना, श्रमिकबाट एक महिलासहित तीन जना र पेशागत विज्ञबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहनेछन्।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ। अपाङ्गता भएका व्यक्तिबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना सदस्य रहनेछन्।
विधानअनुसार केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनित गर्नेछ।
सोमबार संशोधित विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबार बस्ने बन्द सत्रले पारित गर्नेछ।
कांग्रेसले मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु गर्ने भएकाले निर्वाचन प्रक्रिया अघि बढाउन विधान सोमबार नै पारित गरिएको हो।






