लोथर (चितवन) । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१, लोथरमा निर्माणस्थल तयार गर्ने काम तीव्र पारिएको छ । अहिले परियोजनास्थलमा ‘ल्याण्ड फिलिङ’, जमिन सम्याउने तथा बाहिरी पर्खाल निर्माणको काम भइरहेको छ ।
आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवका अनुसार परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि अन्तिम चरणमा पुगेको छ । लोथरमा करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रीनफिल्ड टर्मिनल निर्माण गरिनेछ ।
भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)को मोतिहारी डिपोस्थित पम्प हाउसबाट लोथरसम्म पेट्रोलियम पदार्थ ल्याउन करिब ६२ किलोमिटर लामो पाइपलाइन निर्माण गरिनेछ । पाइपलाइनको व्यास १० दशमलव ७५ इन्च हुनेछ ।
हाल मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म सञ्चालनमा रहेको पेट्रोलियम पाइपलाइनलाई लोथरसम्म विस्तार गर्न लागिएको हो । पाइपलाइनको नक्साङ्कन सम्पन्न भइसकेको र पूर्वपश्चिम राजमार्गको समानान्तर हुनेगरी पाइपलाइन बिछ्याउने योजना रहेको निगमले जनाएको छ ।
हेटौँडा बजार क्षेत्रमा भने पाइपलाइन नलगिने भएको छ । हेटौँडा बजारलाई ‘बाइपास’ गर्दै पाइपलाइन निर्माण गर्ने गरी डिजाइन तयार गरिएको छ । रातोमाटे आसपासबाट नदीको बीच हुँदै जाने पाइपलाइन हेटौँडा बजार पार गरेपछि राप्ती पुल नजिकबाट पुनः बाहिर निस्कनेछ ।
निर्देशक यादवका अनुसार परियोजना निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ । निर्माण सुरु भएको करिब तीन वर्षभित्र परियोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
निगमका अनुसार पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर इन्धन लोथरसम्म आपूर्ति गर्न सकिनेछ । करिब ६२ किलोमिटर लामो पाइपलाइनमा नियमित रूपमा ३२ सय किलोलिटर इन्धन भण्डारण अवस्थामा रहनेछ ।
निर्माणस्थलमा पूर्वाधारको काम तीव्र
निगमका उपप्रबन्धक ऋषिराम शर्माका अनुसार निर्माणस्थलमा जमिन सम्याउने, बाहिरी पर्खाल लगाउने तथा अन्य पूर्वतयारीका काम भइरहेको छ । जग्गा तयार भएपछि भण्डारणसहितका संरचना निर्माणको जिम्मेवारी आइओसीलाई दिइनेछ ।
ल्याण्ड फिलिङ तथा बाहिरी पर्खाल निर्माणको ठेक्का मोतीदान कन्स्ट्रक्सनले पाएको छ । करिब रु ७९ करोड लागतमा ठेक्का पाएको कम्पनीले गत भदौदेखि काम सुरु गरेको हो । ठेक्का अवधि एक वर्ष रहे पनि आठदेखि नौ महिनामै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको कम्पनीका प्रतिनिधि कृष्ण घोरासाइनीले बताए ।
९१ हजार ९०० किलोलिटर इन्धन भण्डारण हुने
लोथरमा निर्माण हुने टर्मिनलमा पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन भण्डारणका लागि विभिन्न क्षमताका ट्याङ्की निर्माण गरिनेछ ।
पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीनवटा, डिजेलका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीनवटा तथा मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण गरिनेछ । त्यस्तै हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीनवटा ट्याङ्की बनाइनेछ ।
लोथरमा निर्माण हुने नयाँ डिपोको कुल भण्डारण क्षमता ९१ हजार ९०० किलोलिटर हुनेछ । यसबाहेक दुईवटा ट्रान्समिक्स ट्याङ्कीसमेत निर्माण गरिने निगमले जनाएको छ ।
पाइपलाइनबाटै हवाई इन्धन
लोथरमा हवाई इन्धन भण्डारणका लागि आवश्यक संरचना बनेपछि हवाई इन्धनसमेत पाइपलाइनमार्फत ल्याउन सकिनेछ । हाल निगमले भारतको बरौनीबाट करिब ४०० किलोमिटर दूरी पार गरेर ट्याङ्करमार्फत हवाई इन्धन नेपाल ल्याउँदै आएको छ ।
पाइपलाइनबाट हवाई इन्धन ल्याउन थालेपछि प्रतिलिटर करिब पाँच रुपैयाँ ढुवानी खर्च बचत हुने निगमको अनुमान छ । यसबाट वार्षिक करिब रु दुई अर्ब बराबरको ढुवानी खर्च बचत हुने अपेक्षा गरिएको छ ।
पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव कम हुने, चोरी तथा मिसावटको जोखिम घट्ने निगमको भनाइ छ । पाइपलाइन तथा भण्डारण गृहसहित परियोजनाको अनुमानित लागत रु १४ अर्ब नौ करोड ६० लाख रहेको छ ।
भारतसँगको सम्झौतापछि अघि बढेको परियोजना
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठमा गरेको भारत भ्रमणका क्रममा अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन तथा लोथरमा भण्डारण गृहसहितको सुविधा सम्पन्न डिपो निर्माण गर्ने समझदारी भएको थियो ।
सोही समझदारीअनुसार २०८१ असोज १७ गते नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच परियोजना निर्माणसम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण सुरु भएको ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । आइओसीले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार गरिसकेको छ ।
अमलेखगन्जसम्मको पाइपलाइनबाट ७० प्रतिशत माग धानिँदै
भारतको मोतिहारीदेखि अमलेखगन्जसम्मको ६९ दशमलव दुई किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ सालदेखि सञ्चालनमा छ । यसको ३३ किलोमिटर भारततर्फ र ३६ दशमलव दुई किलोमिटर नेपालतर्फ पर्छ ।
२०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको उक्त पाइपलाइनबाट सुरुमा डिजेल आयात हुँदै आएको थियो । २०८१ असोज २४ देखि पेट्रोल तथा २०८१ मङ्सिर १९ देखि मट्टितेलसमेत पाइपलाइनबाट आयात गर्न थालिएको हो ।
‘मल्टी प्रोडक्ट पाइपलाइन’मार्फत आयात हुने पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग धान्दै आएको निगमले जनाएको छ । अमलेखगन्जबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज र जनकपुरलगायतका डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ ।
अमलेखगन्ज–लोथर परियोजना सञ्चालनमा आएपछि नेपालका पश्चिमी तथा उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ ।






