उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन । नारायणी नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै चितवनका उद्योगी व्यवसायीले आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।

उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्धन तथा बजार संरक्षणका लागि तत्काल आवश्यक पहल गर्न ध्यानाकर्षण गराएको हो।

संघका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार व्यवसायीले नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमबारे तत्काल प्राविधिक अध्ययन गराउन माग गरेका छन्। त्यसका लागि राज्यका सम्बन्धित निकायबाट प्राविधिक टोली खटाई जोखिमको यथार्थ अवस्था पहिचान गर्न पनि आग्रह गरिएको छ।

भेटमा संघका अध्यक्ष सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायत सहभागी थिए।

व्यवसायीको आग्रहपछि रास्वपा सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययन गराउने र त्यसको आधारमा प्रभावकारी तटबन्धन निर्माण तथा नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

लामिछानेले छिट्टै प्राविधिक टोली पठाएर अध्ययन गराई आवश्यक काम अघि बढाउने आश्वासन दिएको अध्यक्ष सुवेदीले जानकारी दिए।