गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने कुनै पनि व्यक्ति वा पदाधिकारीले उन्मुक्ति नपाउने बताएका हुन् ।

उनले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई दिने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको उल्लेख गरेका छन् ।

गुरुङले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताएका छन् । पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ ।

उनका अनुसार सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

यसैबीच, संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो । गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको तथा संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ ।

गृहमन्त्री गुरुङले गोपनीयता र संवेदनशील सूचनाको संरक्षणमा लापरबाही गर्ने तथा त्यसको दुरुपयोग गर्ने जोसुकैलाई कानुनको कठघरामा ल्याइने स्पष्ट पारेका छन् ।