सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता

तान्जानिया । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसा पुगेका सभामुख डीपी अर्यालले अष्ट्रेलियाली संसद्का समकक्षीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा सभामुख अर्यालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, मैत्रीपूर्ण सम्बन्ध र साझा लोकतान्त्रिक मूल्यका आधारमा द्विपक्षीय सम्बन्ध अघि बढिरहेको बताए ।

उनले भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढीपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । बाढीमा परी बेपत्ता भएका अष्ट्रेलियाली नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले विपद्का बेला अष्ट्रेलियाले देखाएको ऐक्यबद्धताको प्रशंसा गरे ।

सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपालसहित हिमाली मुलुकहरू गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय पहल र बहसमा अष्ट्रेलियाको सहयोग तथा ऐक्यबद्धताको अपेक्षा व्यक्त गरे ।

भेटका क्रममा नेपाल–अष्ट्रेलिया संसदीय सहकार्य विस्तारका विषयमा पनि छलफल भएको थियो । सभामुख अर्यालले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन हुनु दुई देशबीचको संसदीय सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण आधार भएको बताए ।

उनले दुवै देशका सांसदबीच नियमित अन्तरक्रिया, अनुभव आदानप्रदान तथा संसदीय कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन सकिने धारणा राखे ।

सभामुख अर्यालले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा नेपाली मूलका समुदायले दुई देशबीचको जनस्तरीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले पर्यटन, शिक्षा र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्न नेपाल–अष्ट्रेलियाबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना महत्वपूर्ण हुने भन्दै यसका लागि सहकार्य गर्न आग्रह गरे ।

भेटमा अष्ट्रेलियाली समकक्षीले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गरेका थिए ।

सभामुख अर्यालले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय तहमा नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउन नेपालको प्रतिबद्धता व्यक्त गर्दै दुई देशका संसद्बीचको निकट सहकार्यले समग्र सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।