काठमाडौं । यस वर्ष भदौ १० गते आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
मंगलबार सार्वजनिक गरिएको विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका निम्ति फरक ढंगले पुनर्निर्माण’ मा पुनर्निर्माण तथा पुनर्स्थापनाका काम तीव्र बनेसँगै आगामी आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
प्रतिवेदनअनुसार बाढीबाट भएको ठूलो क्षतिका कारण उद्योग क्षेत्र आर्थिक वृद्धिको प्रमुख बाधक बन्ने देखिएको छ । जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण र यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन छ ।
त्यस्तै, व्यापार, यातायात, पर्यटन र वित्तीय गतिविधिमा आएको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने जनाइएको छ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले रसुवामा आएको बाढीले मानवीय र आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याएको बताएका छन् । उनका अनुसार विपद्ले सडक तथा सञ्चार सञ्जाल, ऊर्जा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य र शिक्षालगायत आधारभूत पूर्वाधारको पुनर्विचार गर्ने अवसरसमेत दिएको छ ।
उनले जलवायु परिवर्तन र बदलिँदो जोखिमलाई ध्यानमा राख्दै पूर्वाधार योजना तथा लगानीमा उत्थानशीलता र वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
विश्व बैंकले पुनर्निर्माणका क्रममा क्षतिग्रस्त संरचना जस्ताको तस्तै पुनर्स्थापना गर्नेभन्दा बहुविपद् जोखिमको नयाँ मूल्यांकन गर्न, पूर्वाधारको स्थान र डिजाइनमा सावधानी अपनाउन तथा यातायात, ऊर्जा र सञ्चारका महत्त्वपूर्ण सञ्जालमा वैकल्पिक व्यवस्था सुनिश्चित गर्न सुझाव दिएको छ ।
त्यस्तै, विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन र संकटमा परेका परिवारलाई विपद्पछिको सहायता छिटो उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली विकास गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।
दक्षिण एसियाको आर्थिक वृद्धि ६.९ प्रतिशत
विश्व बैंकले सन् २०२६ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बलियो आन्तरिक मागका कारण विश्वव्यापी आर्थिक उतारचढावको प्रभावबाट क्षेत्रीय अर्थतन्त्र तुलनात्मक रूपमा सुरक्षित रहने उसको अनुमान छ ।
तर, सन् २०२७ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।
प्रतिवेदनले दक्षिण एसियामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग बढ्दै गएको उल्लेख गरे पनि विकसित अर्थतन्त्रको तुलनामा यसको प्रयोग अझै न्यून रहेको जनाएको छ ।
स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूर्ति गर्न तथा व्यवसायमा नयाँ अवसर सिर्जना गर्न एआईको प्रयोग महत्वपूर्ण हुन सक्ने विश्व बैंकको निष्कर्ष छ ।
विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गले एआईको प्रयोगले श्रम उत्पादकत्व बढाउन, निर्यातका अवसर विस्तार गर्न र सार्वजनिक सेवा प्रवाह सुधार गर्न सक्ने बताएकी छन् ।
एआईको प्रभावकारी प्रयोगका लागि जनशक्तिको सीप विकास, व्यवसायमैत्री वातावरण, भौतिक तथा डिजिटल पूर्वाधारको सुधार र स्पष्ट नियामक संरचना आवश्यक रहेको विश्व बैंकले औँल्याएको छ ।
साना तथा मझौला व्यवसायले एआई प्रयोग गर्दा सामना गर्ने अवरोध हटाउन र स्थानीयस्तरमा एआईसम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्न पनि विश्व बैंकले सुझाव दिएको छ ।






