काठमाडौँ । नेपाली सेनाका ३२ जिल्लामा रहेका विभिन्न निकाय, युनिट तथा सब–युनिटमा नियमित रूपमा प्रशोधित दूध तथा दुग्धजन्य पदार्थ आपूर्ति गर्ने सम्झौता भएको छ।
दैनिक तथा नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ आपूर्ति गर्ने सम्बन्धी सम्झौतामा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका सहायक रथी सञ्जयकुमार रञ्जित र दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार सेनाका विभिन्न निकायमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुनेछ। वार्षिक रूपमा ३७ लाख ४१ हजार ५०६ लिटर दूध आपूर्ति गर्ने सम्झौता भएको छ।
त्यस्तै, दैनिक ३६५ किलो दही आपूर्ति हुनेछ भने यसको वार्षिक परिमाण १ लाख ३३ हजार ५२२ किलो रहनेछ।
सम्झौताअनुसार सेनालाई दैनिक ३७ किलो पनिर पनि उपलब्ध गराइनेछ। यसको वार्षिक आपूर्ति १३ हजार २४० किलो हुनेछ।
त्यसैगरी, दैनिक २१ किलो होल मिल्क पाउडर र १५ किलो चिज आपूर्ति गरिनेछ। यसको वार्षिक परिमाण क्रमशः ७ हजार ४४१ किलो र ५ हजार २७८ किलो रहेको छ।
यस सम्झौताले नेपाली सेनाका विभिन्न निकायमा आवश्यक दुग्ध तथा दुग्धजन्य पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्ने बताइएको छ।






