चीन र ताइवानका अधिकारीबीच हातपात

कात्तिक ५, काठमाडौं ।
चीन र ताइवानका अधिकारी कुटपिटमा उत्रिएको घटना सार्वजनिक भएको छ । दुई देशबीच लामो समयदेखि जारी तनावका बीच फिजीमा दुवै देशका अधिकारीबीच हातपात भएको समाचार आएका हुन् ।

ताइवानले आफ्नो ‘नेशनल डे’का दिन चिनियाँ दूतावासका दुई अधिकारीलाई नबोलाइएको भए पनि कार्यक्रममा पुगेको बताएको छ । यद्यपि चीनले यो दाबी अस्वीकार गरेको छ ।

तर दुवै पक्षले आफ्ना कर्मचारी घाइते भएको बताएका छन् । फिजी प्रहरीले यसको जाँच गरिरहेको बताएको छ ।

ताइवानलाई चीनले आफ्नो एक बेग्लै प्रान्त मान्दै आएको छ भने ताइवानका नेता चाहिँ यो देश छुट्टै सम्प्रभूतासम्पन्न मुलुक रहेको दाबी गर्छन् ।

दुवै देशबीचको सम्बन्ध निकै तनावपूर्ण बन्दै गएको छ । बेला–बेला आइरहेका विवादले कतै युद्ध निम्त्याउने पो हो कि भन्ने डर अन्तरराष्ट्रिय समुदायमा छ । यसमा अमेरिकाले ताइवानको पक्षमा बोलेको छ ।

प्राप्त जानकारी अनुसार यो घटना २ अक्टुबरका दिन भएको थियो । जब फिजीमा ताइवानको व्यापार कार्यालय वा ट्रेड अफिसले एक कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ यो अफिसलाई ताइवानको दूतावासझैं सम्झिइन्छ ।

ताइवानको विदेश मन्त्रालयले चीनका दुई अधिकारीले त्यहाँ पुगेर अतिथिको फोटो खिच्ने र उनीहरूका बारे जानकारी लिने काम गरेको दाबी गरेको छ । ताइवानका अधिकारीले त्यहाँबाट जान भने पनि ती चिनियाँ अधिकारीले उल्टै आफ्ना कर्मचारीमाथि आक्रमण गरेको मन्त्रालयले बताएको छ ।

आफ्ना कर्मचारीलाई यसै कारण अस्पताल भर्ना गर्नुपरेको ताइवानले बताएको छ । ताइवानले चिनियाँ दूतावासको यस व्यवहारको ‘कडा निन्दा’ गरेको बताएको छ ।

तर चीनले यसलाई छुट्टै घटना भनेको छ । चीनका अनुसार चिनियाँ कर्मचारी कार्यक्रमस्थलभन्दा बाहिर सार्वजनिक स्थलमा आफ्नो ड्युटिमा थिए । ताइवानका अधिकारीले ती चिनियाँमाथि झगडाका लागि उक्साउने व्यवहार गरेको र कुटपिट गरेको बताएको छ ।

सोमबार चीनले एक प्रेस ब्रिफिङमा उक्त कार्यक्रममा एक केक रहेको र त्यसमाथि ताइवानको झन्डा राखिएको बताएको छ । चीनले यो गलत भएको र ताइवान आफ्नो अंग भएकोले उक्त झन्डा राख्नु गलत भएको बताएको छ ।