काठमाडौँ । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन गर्न गठित उपसमितिले १९ बुँदे कार्यविधि सर्वसम्मतिले पारित गरेको छ।
बुधबार सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले कार्यविधि पारित गर्दै सबै सदस्यले त्यसमा हस्ताक्षर गरेका हुन्।
उपसमितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमित समयभित्र प्राप्त कागजात र प्रमाणहरूको प्रभावकारी अध्ययन गर्नु मुख्य चुनौती रहेको बताए। उनका अनुसार उपसमितिको अर्को बैठक दसैँपछि बस्नेछ।
बैठकले विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरेको छ। प्राप्त दस्ताबेजको गोपनीयता कायम राख्न लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिने भएको छ।
कुनै पनि कागजात सभाहलबाट बाहिर लैजान वा सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ।
सभापति झाले चाडपर्वका कारण हुने लामो बिदा र उपसमितिका सदस्यहरूको जिल्ला भ्रमणका कारण काम अघि बढाउन चुनौती हुने बताए।
उपसमितिलाई प्राप्त कागजात तथा तथ्यहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन दुई महिनाको समयसीमा तोकिएको छ। उपसमितिको कार्यअवधि आगामी मङ्सिर २० गतेसम्म रहनेछ।






