तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण भइरहेको आयोजनाका तीनवटै प्याकेजअन्तर्गतका काम तीव्र गतिमा भइरहेका छन्।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज १ मा बाँधलगायतका हेडवक्र्स संरचना, प्याकेज २ मा मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ मा दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ।

प्याकेज १ को प्रगति ६३ प्रतिशत

बाँधलगायतका संरचना निर्माणको जिम्मा सोङ्दा कालिका जेभीले लिएको छ। यस प्याकेजको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ।

मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्।

१४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखेर काम सुरु गरिएको थियो। गत भदौमा मात्रै ३३ हजार ६८१ घनमिटर कङ्क्रिट राखिएको थियो। हालसम्म पाँच लाख सात हजार ४४२ घनमिटर कङ्क्रिट राख्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

प्याकेज २ को काम ७९ प्रतिशत

प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणको काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। यस प्याकेजअन्तर्गत अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको भण्डारीले बताए।

विद्युत्गृह, केबल सुरुङ, सर्च ट्याङ्क र टेलरेसहितका संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भइसकेको छ। यस प्याकेजको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ।

जलाशयबाट पानी विद्युत्गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङको काम भने जारी छ। कुल एक हजार ४१८ दशमलव ७५ मिटर सुरुङमा कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म एक हजार ४०७ दशमलव ७५ मिटर काम सम्पन्न भएको छ।

प्रसारण लाइन निर्माण ८२ प्रतिशत

प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको जिम्मा भारतको केइसी इन्टरनेसनल लिमिटेडले लिएको छ। ३३ किलोमिटर लामो प्रसारण लाइनमा कुल ९४ वटा टावर निर्माण गर्नुपर्नेमा ८३ वटा टावरको जग निर्माण सम्पन्न भएको छ भने ८० वटा टावर खडा गरिसकिएको छ।

चितवन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताए। यस प्याकेजको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ।