काठमाडौँ— निजी इन्टरनेट सेवा प्रदायकले सुपथ मूल्यका प्याकेज बिक्री गर्न नसक्ने घोषणा गरेपछि इन्टरनेट शुल्क बढ्ने हो कि भन्ने बहस भइरहेका बेला नेपाल टेलिकमले भने आफ्ना सस्ता तथा कम गतिको इन्टरनेट प्याकेज बन्द नगर्ने स्पष्ट पारेको छ ।
इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले इन्धनको मूल्यवृद्धि, फाइबरको लागत बढ्नु, मुद्रास्फीति तथा एआई प्रविधिको तीव्र विस्तारसँगै इलेक्ट्रोनिक चिपसेटको मूल्य बढेकाले सञ्चालन खर्च धान्न कठिन भएको भन्दै गत सोमबारदेखि सस्ता प्याकेज बिक्री गर्न नसक्ने जनाएको थियो ।
निजी सेवा प्रदायकले सस्ता प्याकेज बन्द गर्ने घोषणा गरेपछि न्यून आय भएका उपभोक्ता इन्टरनेट सेवाबाट वञ्चित हुनुपर्ने हो कि भन्ने चिन्ता बढेको छ ।
तर सरकारी स्वामित्वको नेपाल टेलिकमले भने हाल सञ्चालनमा रहेका इन्टरनेट प्याकेज निरन्तर रहने जनाएको छ । टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले मूल्य बढाउने तत्काल कुनै योजना नरहेको जानकारी दिए ।
“टेलिकमले ग्राहकलाई बिक्री गरिरहेका प्याकेज निरन्तर चल्छन् । अहिले मूल्य बढाउने सोच छैन । टेलिकमले उपलब्ध गराएको प्याकेज निकै सर्वसुलभ दरका छन्,” उनले भने ।
उनका अनुसार अन्य सेवा प्रदायकको तुलनामा टेलिकमले वार्षिक तथा दुई वर्षे फाइबर इन्टरनेट प्याकेज तुलनात्मक रूपमा सस्तो दरमा उपलब्ध गराउँदै आएको छ । फाइबर इन्टरनेट खरिद गर्दा मोबाइलमा दैनिक ६०० एमबीदेखि एक हजार एमबीसम्म डाटा निःशुल्क उपलब्ध हुने व्यवस्था रहेको टेलिकमले जनाएको छ । एक महिने र तीन महिने प्याकेजसमेत सञ्चालनमा छन् ।
टेलिकमका अनुसार घरायसी ग्राहकका लागि ५० एमबिपिएस इन्टरनेटको वार्षिक शुल्क आठ हजार ४९९ रुपैयाँ छ । दुई वर्षको प्याकेज एकैपटक खरिद गर्दा १४ हजार ९९९ रुपैयाँ तिर्नुपर्छ । वार्षिक शुल्क एकैपटक भुक्तानी गर्दा दैनिक ६०० एमबी मोबाइल डाटा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, ७५ एमबिपिएसको वार्षिक शुल्क १० हजार ४९९, १०० एमबिपिएसको ११ हजार ४९९, १५० एमबिपिएसको १२ हजार ९९९ र २०० एमबिपिएसको १६ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
टेलिकमका प्रवक्ता लामिछानेले उपभोक्ताले तिरेको शुल्कअनुसार तोकिएको ब्यान्डविथभन्दा कम सेवा नपाउने र बिलिङ प्रणाली पारदर्शी रहेको दाबी गरे । दुई वर्षको प्याकेज एकैपटक खरिद गर्दा वार्षिक प्याकेजको तुलनामा झन्डै १५ प्रतिशतसम्म छुट उपलब्ध हुने उनले बताए ।
गत साउन मसान्तसम्म नेपाल टेलिकमको फाइबर इन्टरनेटका ग्राहक चार लाख दुई हजार ११० पुगेका छन् ।
१९८ मा फोन गरेर इन्टरनेट जडानको माग गर्न सकिने
टेलिकमले इन्टरनेट जडान तथा मर्मतसम्भारको सेवा पनि व्यवस्थित बनाइएको जनाएको छ । इन्टरनेट जडान गर्न कार्यालयमै पुग्नुपर्ने बाध्यता हटाउँदै १९८ मा फोन गरेर जडानका लागि माग दर्ता गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताए ।
“इन्टरनेट जडान गर्न चाहने ग्राहकले कार्यालयमा आउनुपर्दैन, सिधैँ १९८ मा फोन गरेर ‘डिमान्ड’ लिन सक्नुहुन्छ,” उनले भने ।
ग्राहकलाई सहज सेवा उपलब्ध गराउन सार्वजनिक बिदा तथा चाडपर्वमा समेत काउन्टर खुला राख्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
हाल टेलिकमको फाइबर सेवा ७७ जिल्लाका झण्डै ४०० पालिका तथा पालिका केन्द्रसम्म पुगेको छ । फाइबर नपुगेका स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको र दुर्गम तथा अतिदुर्गम क्षेत्रमा राष्ट्रिय आवश्यकताका आधारमा सेवा विस्तार गरिरहेको कम्पनीले जनाएको छ ।
टेलिकमका अनुसार एनटी फाइबरमार्फत एउटै तारबाट उच्च गतिको इन्टरनेट, टेलिभिजन, टेलिफोन र मोबाइल डाटासहित चारवटा सुविधा लिन सकिन्छ । कम्पनीले यसलाई ‘थ्री प्लस वान’ नाम दिएको छ ।
स्मार्ट टिभीमा सेट–टप बक्सबिनै एनटीटीभी
नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवामा स्मार्ट टिभी प्रयोगकर्ताका लागि नयाँ सुविधा ल्याएको छ । अब एन्ड्रोइडमा आधारित स्मार्ट टिभीमा छुट्टै सेट–टप बक्सबिनै एनटीटीभी हेर्न सकिने भएको छ ।
कम्पनीले असोज १५ देखि एन्ड्रोइड टिभीका लागि ‘भर्चुअल सेट–टप बक्स’ सुविधा सञ्चालनमा ल्याएको हो । ग्राहकले आफ्नो एन्ड्रोइड स्मार्ट टिभीमा गुगल प्लेस्टोरमार्फत ‘स्मार्ट एनटीटिभी’ एप इन्स्टल गरेर सेवा प्रयोग गर्न सक्नेछन् ।
आगामी दिनमा सबै प्रकारका स्मार्ट टिभीमा प्रयोग गर्न सकिने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रवक्ता लामिछानेले बताए ।
नयाँ प्याकेज खरिद गर्दा भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकलाई एक हजार रुपैयाँ छुट दिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । कम्पनीले भर्चुअल सेट–टप बक्ससहित एनटीटीभीका विभिन्न प्याकेज उपलब्ध गराएको छ । वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डाटाको सुविधासमेत समावेश गरिएको छ।






